• सँगीत अन्तरआत्माको परिभाषा हो । – राजेश थापा ( युवा सँगीतकार)

    राजेश थापा
    सँगीतकार राजेश थापा नेपाली सँगीत क्षेत्रमा नयाँ नाम हुन सक्छ । तर नयाँ हुनुको अर्थमा उहाँको यस क्षेत्रको भोगाई र अनुभव छोटो भने छैन । विगत एक दशक अघिदेखि निरन्तर सँगीत कर्ममा नै रहेर राजधानीमा एक छोरा र श्रीमती सहीत खुशी पारिवारिक जिन्दगी ब्यतित गर्दै आउनुभएकोछ । सँगीत कर्मकै सिलसिलामा देश बिदेशका थुप्रै साँगीतिक कार्यक्रमहरुमा सहभागिता जनाईसक्नुभएको छ उहाँले । २०३९ सालमा काभ्रेको ढुङ्खर्कमा बुवा इन्द्र बहादुर थापामगर र आमा मैयाँ देबी थापामगरको पाचौं पुत्ररत्नको रुपमा जन्मिनुभएको थापा हाल सँगीत क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने मार्गमा सँघर्षरत हुनुहुन्छ । ऊनै काभ्रेली स्रष्टा राजेश थापासँग ग्लोबल नेपाल न्युज र हाम्रो सँस्कृतिपत्रिकाकोलागि तिब्वत दर्लामीले गरेको कुराकानी प्रस्तुत छ ..

    १ हाम्रो सँस्कृती पत्रिकाको स्रष्टा सम्बादमा यहाँलाई स्वागत छ । 
    हजुर धन्यवाद । सँगीत र सँस्कृतीप्रेमी सम्पूर्ण पाठकहरुमा नमस्कार । झोर्ले ।

    २ यहाँको बाल्यकाल कसरी वित्यो बताईदिनुस न ।

    एउटा मध्यम बर्गीय जनजाती बालक जसरी हुर्किन्छ त्यसरी नै हुर्की बढेको हुँ म । पहाडको मगर परिवारमा जन्मेको हुनाले उही बाबु आमाले गर्ने मेलापात पैँचो–पर्म, खेतीपाती कार्यको साक्षी बन्दै, दाजु दिदीहरुसँगै अघि–पछि लागेर स्कुल–घर गर्दै हुर्किएँँ । अझ यसो भनौं पहाडी स्वच्छ र स्वस्थ हावा पानीमा खेल्दै बाल्यकाल कतिखेर पार गरिएछ पत्तै भएन ।
    ३ यहाँले औपचारिक शिक्षा के कसरी हाँसिल गर्नुभयो नि ?

    बिद्यालय स्तरीय शिक्षा मैले गाउँकै आत्मा बिकास मा.बि. (हाल उच्च मा.बि) बाट पूरा गरेको हुँ । उच्च शिक्षाको हकमा चै राजधानीको आर.आर. क्याम्पसबाट सँगीत र अँग्रेजी साहित्यमा स्नातकसम्म र प्रयाग सँगीत समिति इलाहाबाद इण्डियाबाट शास्त्रीय सँगीतमा बिम्युजसम्म पूरा गरेको छु । स्नाकोत्तर गर्ने ईच्छा रहँदा रहँदै पनि विभिन्न परिस्थिती र समयको कारण पूरा गर्न सकिरहेको छैन । बुढेसबालमै भएपनि यो ईच्छा पूरा गर्ने सोचाई चाहीँ जीवितै छ भनौं न हाहाहा.....

    ४ बिषय सँगीतकै उठाउन चाहान्छु । तपाईको बिचारमा सँगीत के हो र सँगीतप्रति यहाँको झुकाव कसरी रहन गयो?

    सँगीत सर्वव्यापी छ । त्यसैले सबैको आफ्नै–आफ्नै दृष्टिकोण र परिभाषा हुन सक्छन् । मलाई लागेको कुरा भन्नुहुन्छ भने चाहीँ सुन्नेहरुको लागि सँगीत अन्तरआत्माको परिभाषा हो । सँगीत मात्रै एउटा यस्तो साथी हो जो दुःख सुख को क्षणमा अभिन्न भएर साथै रहन सक्छ । अव हामी जस्ता सँगीतकर्ममा लाग्नेहरुका लागि भने यो एउटा अथाह त्याग हो, तपस्या हो र धैर्यता पनि हो । यसमा सँसारलाई नजिक्याउने एउटा अदृश्य शक्ति छ जो अति शक्तिशाली छ अर्थात यसो भनौं अहिलेको कालखण्डमा त युग परिवर्तन गर्ने अन्य शक्तिहरु जस्तै यो एक प्रमुख बिधा हो जस्तो मलाई लाग्छ ।
    अव झुकावको कुरा गर्नुपर्दा सँगीत मेरो सानैदेखिको रुची हो । बिद्यालय तथा बिद्यालय बाहिर हुने गरेका कार्यक्रमहरुमा प्राय छुट्दिनथिएँ म । सहभागी जनाईरहन्थेँ । मेरो जेठो दाजु गितार र माइला दाजु बाँसुरी राम्रो बजाउनुहुन्थ्यो । उहाँहरुको त्यो वादन कार्यलाई नियाल्दा नियाल्दै अनायासै मेरो झुकाव पनि सँगीतप्रति बढ्न पुगेछ । फेरी भगवानले पनि यही क्षेत्रमा गरिखाऊ भनेर पठाएको हुन् कि जस्तो पनि लाग्छ ।

    ५ काभ्रेको ढुँखर्कदेखि काठमाणडौंसम्मको साँगीतिक यात्राबारे बताईदिनुस् न ।

    ढुँखर्कमा रहँदाको बाल्यकालको बारे केही त अघि नै भनिसकेँ जस्तो लाग्छ । काठमाण्डौंको हकमा चै कलेजमा सँगीत मुख्य बिषय राखेर पढ्दै जाँदा फाट्टफुट्ट केही सँगीतकर्मीहरुसँग चिनजान भेटघाट हुदै गयो । यदाकदा कलेजमा साँगीतिक कार्यक्रमहरुमा पनि सहभागिता जनाउदै गएँँ । कलेजको पढाईले मात्रै नपुगेर मासिक शुल्क तिरेर विभिन्न प्रशिक्षण केन्द्रहरुमा कक्षा पनि लिने काम गरियो । सायद ५६÷५७ सालतिर हुनुपर्छ नेपाल सरकारको साँस्कृतिक सँस्थानद्धारा देशभरिबाट छानिएका १५ जना प्रशिक्षार्थीभित्र म पनि पर्न सफल भई छात्रवृतिमा सँगीतको कक्षा लिन पाएँँ । यसरी बिभिन्न ज्ञान र अनुभव सँगाल्दै अघि बढ्ने क्रममा यदाकदा राष्टिय तथा अन्तराष्टिय स्तरमा पनि सहभागिता जनाउने सुअवसरहरु मिल्न थाल्यो । सँगीत क्षेत्रमा म एउटा बाद्यबादक पनि भएर चिनिन पाएको नाताले राष्टिय तथा अन्तराष्टिय कार्यक्रमहरुमा सामेल हुने मौका पाएको हुँ खासमा ।

    ६. बिगत दस बर्षदेखि सँगीत क्षत्रमा क्रियाशील हुनुहुनछ । आफ्नो अनुभव छोटकरीमा बताईदिनुस् न ।

    हेर्नाेस् रचनाकार, सँगीतकार अनि बाद्यबादक भनेको पर्दापछाडीका हिरोहरु हुन् । जो गायक गायिकाको तुलनामा जनमानससमक्ष कम परिचित भएपनि सँगीत बिधाको मेरुडण्ड भनेकै यिनीहरु हुन् । तर अनुहार अगाडी देखिएन भनेर हामी कहिल्यै बेकामे र फुर्सदिला पनि हुदैनौं । निरन्तर आफ्नो क्षत्रमा ब्यस्त नै छौं । कहिले विभिन्न ईभेन्टमा सहभागीको रुपमा , कहिले रेकर्डिङ स्टुडियोमा, कहिले अध्ययन अध्यापन कर्ममा रहेर हामी यो क्षेत्रभन्दा बाहिर छँदैछैनौं । सबै क्षेत्रका मान्छेहरुमा यस सम्बन्धी तीता मीठा अनुभवहरु अवश्य भई नै हाल्छन् । मेरो हकमा पनि यी कुरा लागु हुने गर्दछन् । जिन्दगी जिउने क्रममा आउने यस्ता क्षण तथा अनुभवहरुलाई आफुले आत्मादेखि रोजेको क्षेत्रले दिएको अमूल्य उपहार ठानेर मनभित्रै साँची राख्ने गरेकोछु मैले । अव सबै अनुभवहरुको बेलीविस्तार लगाउदा त एउटा कृति नै तयार होला सायद । त्यसैले अर्को बसाईमा कुनै दिन बताउँला नि हुन्न र ?

    ७ नेपालको सँगीत बजारलाई तपाईले कसरी हेर्नुभएकोछ ? कस्तो छ नेपाली गीत सँगीतको अवस्था ?

    धेरै सान्दर्भिक प्रश्न गर्नुभयो । वास्तवमा नेपालको सँगीत बजार बिक्री बितरणको हिसाबले हेर्ने हो भने शून्यप्रायः छ । सरोकारवाला निकायबाट एउटा निश्चित मापदण्ड लागु नभएको कारण पाइरेसीले सिँगो क्षत्र नै आक्रान्त छ । एउटा सर्जकले कति दुःख सहदै दिनरात खटेर आफ्नो पसिना र विवेक खर्चेर सिर्जना गरेको गीत सँगीत मुनाफा त परै जाओस लगानीको एक प्रतिशत उठाउनु पनि सपनाको कुरा बनेको छ याहाँ । तर सुचना–प्रबिधिको यो जमानामा उसको नाम भने सँसारभरि मिनेटभरमै फैलिने गर्दछ । जसको कारण जुनसुकै कुनाका पनि दर्शक स्रोताले एउटा सर्जकको बारेमा जान्ने सुन्ने र हेर्ने मौका भने पाएका छन् । यो चाहीँ सकारात्मक पाटो हो । यस अर्थमा दाम विनाको नामको क्षेत्र भएको छ यो अहिले ।

    ८. तपाई राष्टियस्तरको विभिन्न बिद्यालयहरुमा सँगीत प्रशिक्षण दिनुहुन्छ । नेपालको सँगीत सिकाई र सँगीत बिद्यालयहरुबारे के छ धारणा ?

    अहिलेको स्थितीमा हरेक शैक्षिक सँस्थाहरुमा सँगीत शिक्षकको नियुक्ति अनिवार्य बनेकोछ । जुन कुरा हामी जस्ता सँगीतकर्मीहरुलाई अत्यन्त सकारात्मक छ । तर विडम्बना नै भन्नुपर्छ कि कुनैकुनै नाम चलेका र स्थापित बिद्यालयहरुमा पनि सम्बन्धित बिषयगत ब्यक्तिको क्षमता र योग्यताको पहिचान विना नै शिक्षकको रुपमा नियुक्ति गर्ने चलन बढेर गएको देखिन्छ । त्यो चाहीँ बिल्कुल विकृतिजन्य र गजत कुरा हो । एउटा ब्यक्ति जोसँग सँगीतको शैद्धान्तिक ज्ञान अर्थात औपचारिक शिक्षा शून्य छ तर गीत गाएर अथवा सँगीत भरेर चर्चा कमाउदै गरेको छ, उसैलाई नियुक्ति गरेर हदैसम्मको भूल अहिलेको विद्यालयहरुले गर्ने गरेका छन् । त्यसरी सँगीतको गुणस्तरीय शिक्षामा कसरी टेवा पुग्दछ ? एउटा मीठो स्वर भएको गायक असल शिक्षक पनि हो भन्ने कुराको शत प्रतिसत ग्यारेन्टी के हुन सक्छ र ? कुरा शिक्षकको मात्र हैन विद्यार्थीको पनि आउछ । धेरै विद्यार्थीहरुमा धैर्यताको कमी देख्दछु म । एक दुई महिना सिकेर स्टार गायक गायिका भन्ने सोचाई पालेर सिक्न आउनेहरु प्रशस्तै देख्ने गरेकोछु मैले जो कालान्तरमा स्वयम् पलायन भएर जाने गरेका छन् । तर राम्रा र साँच्चिकै सँगीत सिकेर भविश्यमा यसलाई नै क्यारियर बनाउछु भन्ने अभिप्रायले आउने पनि हुन्छन् जसमा माथि उल्लेखित कुराहरु लागु हुदैनन् । तसर्थ सँगीत सिक्न आउने विद्यार्थी होस वा सिकाउने विद्यालय सबैले सही शिक्षकको पहिचान गर्न जरुरी छ, जसमा अहिलेका विद्यालयहरुको ध्यान कमै मात्र गएको देखिन्छ ।

    ९ तपाई नेपाल मगर साँस्कृतिक संघको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । कस्तो छ संघको अवस्था ? यसको गतिबिधीबारे बताइदिनुस् न ।

    हजुर हो, म विगत केही समयदेखि नेपाल मगर साँस्कृतिक संघको केन्द्रिय तहमा रहेर काम गर्दै आईरहेकोछु । सँघको अवस्था ठिकै छ तर जुन रफ्तारमा अघि बढ्नुपर्ने थियो गहिरिएर हेर्दा सो अनुरुप चल्न सकिरहेको छैन कि भन्ने भान पनि पर्दछ कहिलेकाहीँ । पदाधिकारीहरु प्राय ब्यस्त भईरहनु पर्ने बाध्यताले गर्दा पनि पर्याप्त समय सँस्था सँचालन र  विकासमा दिन नसकीरहेको अवस्था छ र हामीले यो पनि स्वीकार्नु पर्दछ कि कलाकारिताका हिसाबले अब्बल हुँदाहुँदै पनि हामीहरुमा सँस्था सञ्चलन सम्बन्धि व्यवहारिक र सैद्धान्तिक चेतनाको कमीहरु पनि छन् भन्ने महसुश भएको छ मलाई । त्यसो हुँदा सँस्था कतै–कतै प्रयोग भैदिने डर पनि हुँदोरहेछ । यस्ता खाले विभिन्न गाह्रो अप्ठेरोहरुको बावजुद पनि सँस्थाले आफ्नो जाती र समुदायको हीत र सँस्कृति सम्बर्धनमा आफ्नो तर्फबाट खेल्नु पर्ने हर भूमिकाको मामिलामा भने कुनै कसर बाँकी राखेको छैन । माउ सँगठन र अन्य मातृसँगठनले आयोजना गर्ने प्रत्येक कार्यक्रममा सहभागिता जनाएर होस या वर्षेनी यानी मायाँ साँझ आफै आयोजना गरेर होस् । यस्तै बेलाबेलामा लोप हुन लागेका हाम्रा मौलिक भाका, नृत्यहरुको बारेमा विचार गोष्ठी आयोजना गरेर, प्रशिक्षण शिबिर सञ्चालन गरेर अनि नियमित सँस्थाको मुखपत्र प्रकाशन गरेर आफ्नो उपस्थिती जनाईरहेकोछ । यतिसम्मको गतिबिधीलाई सन्तोषजनक मान्नुपर्छ भन्ने लाग्दछ मलाई ।

    १० गीत सँगीतको माध्यमबाट मगरको सँस्कृतिलाई कसरी जोगाउन सकिएला ?

    अव यसको बारेमा भलाकुसारी गर्ने हो भने निक्कै लामो हुन सक्छ । एउटा बहस कार्यक्रम नै आवश्यकता पर्ने हुन्छ । तैपनि मैले बुझेको कुरा भन्नु पर्दा हाम्रो आफ्नो मौलिक सँस्कृतिलाई जोगाउने सही माध्यम भनेकै यही गीत सँगीत हो । हामी मगरहरुको अत्यन्तै मौलिक र आफ्नै अनगिन्ती भाका, लय तथा नृत्यहरु छन् । तिनलाई प्रत्यक्ष आँखा अगाडी हुवहू प्रस्तुत गरेर सन्देश फैलाउने काम त कुनै नेताले भाषणमा समावेश गरेर सम्भव छैन । चलन चल्तीमा रहेको सँस्कार सँस्कृतिलाई जस्ताको तस्तै टपक्क टिपेर भाखा मिलाई मौलिक बाजागाजाको समिश्रण गराएर जन जिब्रोमा झुण्डाइदिने काम त गीत सँगीतले नै गर्छ नि होईन र ?

    ११ हेराई नै मात लाग्ने बोलको गीतमार्फत तपाई नेपाली सँगीतको ब्याबसायिक धारमा प्रबेश गर्नुभएको थियो । त्यस गीतबारे के भन्नुहुन्छ ?

    वास्तवमा विगत केही वर्षदेखि यदाकदा बाल गीत, लोक गीत, आधुनिक र राष्टिय भावको गीतहरुमा लय सिर्जना गर्दै आईरहेको भएपनि गीतकार तिब्वत दर्लामी जीको शब्दमा मैले सँगीत भरेको हेराई नै मात लाग्ने बोलको गीत दीपक लिम्बूको स्वरमा रेकर्ड गराएपछि चाहीँ मेरो साँगीतिक करियरले नयाँ मोड लिएको पक्कै हो । तर अहिले नै ब्यावसायिक धारमा उभिएँ भन्ने हैन । त्यसको लागि त कति धेरै कार्य गर्न बाँकी नै छ ।

    १२ स्वरुपराज आचार्यले गाउनुभएको नजजरबाट टाढा भाग्यौ कस्तो गीत हो ?

    यो गीतकार आदर्णिय  पदमा लिँखा मगर ज्युद्धारा करुण रसमा रचित एउटा बियोगान्त भाव बोकेको गीत हो । र उहाँ (पदमा लिँखा मगर) को एकल रचना र मेरो एकल सँगीतमा छिट्टै बजारमा आउदै गरेको गीति सँग्रह नजरको शीर्ष गीत पनि हो । स्वरुपराजको मीठो आवाजमा साँच्चिकै कर्णप्रिय बनेको छ यो गीत । शास्त्रिय राग यमन मा आधारित रहेर बनाइएको यो गीतले नेपाली साँगीतिक बजारमा एउटा गतिलो ईतिहास कोर्नेछ भन्ने ठूलो आशा लिएको छु । मैले यो भन्दा धेरै यसको बारेमा अहिले नै भनिहाल्न राम्रो नहोला । एल्बम निस्केपछि सुनेर प्रतिकृया दिने जिम्मा तपाईहरुकै हो ।

    १३ तपाई विभिन्न एल्बमहरुको तयारीमा हुनुहुन्छ । ती एल्बमहरुबारे केही भन्न मिल्छ कि ?

    हजुर, मेरो साँगीतिक जीवनकै पहिलोपटक एकल सँगीत रहेको एल्बम नजर को सम्पूर्ण रेकर्डिङ कार्यहरु सकिएर हाल डबिङको लागि सिँगापुरमा काम भईरहेको अवस्था छ । स्वरुपराज आचार्य, राजेश पायल राई, उदय सोताँग, अञ्जु पन्त, दीपक लिम्बू, रीमा गुरुँग तथा सँगीता रानाज्युको स्वर रहेको यो एल्बमको प्रस्तोता गीतकार पदमा लिँखा मगर ज्यु हुनुहुन्छ । नजर एल्बम रुकुम जिल्लामा स्थापित झुम्लावाङ भिलेज फाउण्डेसनको सहयोगार्थ तयार भएको एल्बम हो । त्यस्तै नव गीतकारहरु नबराज बुढा नवीन उदासी र तिब्वत दर्लामी लगायतको सहकार्यमा सँयुक्त कलेक्सन एल्बम को अधिकाँश गीतहरु रेकर्ड भैसकेको अवस्था छ केही गीतहरु रेकर्ड हुदैछन् । अनि नयाँ वर्षको शुभ अवसर पारेर स–साना नानीहरुको लागि तयार पारिने बाल गीति सँग्रहको पनि रेकर्डिँग सुभारम्भ भैसकेको छ । केही महिना पछि त्यो पूरा होला । यसबाहेक अन्य कलेक्सन एल्बमका गीतहरुमा पनि काम गर्दैछु । यही आउदो दशैपछि काम शुरु गर्नेगरी एउटा एल्बमको लागि सम्झौता भैसकेकोछ ।

    १४ सँगीत बाहेक यहाँको अरु रुचीहरु केही छन् कि ?

    म अँगे्रजी साहित्यको बिद्यार्थी पनि हुँ । मुड आएको बेलामा जानी–नजानी गीत कविताहरु कोर्न मन लाग्छ । अँग्रेजी र नेपाली साहित्य तथा बायोग्राफी पढ्न मन पराउछु र भ्याएसम्म पढ्ने गरेकोछु ।

    १५. भविश्यको अरु योजनाहरु केके छन् ?

    यही हो सक्दो यही क्षेत्रमा केही गरेर देखाउन पाए हुन्थ्यो भन्ने लाग्छ । साथीभाई शुभचिन्तकहरुको माया र सदभावविना एक्लो प्रयासले केही गर्न सकिने रहेनछ । त्यसैले तपाई हामी जस्ता जुझारु युवाहरु मिलेर अघि बढ्दा नै राम्रो होला । त्यसबाहेक विगत लामै समयदेखि विभिन्न शैक्षिक सँस्थाहरुमा आवद्ध भई वालवालिकाहरुसँग नजिक रही आएको हुनाले ती अबोध नानीहरुको ठूलै माया ममा गढीसकेको छ । ऊनीहरुसँग रहँदा बस्दा रमाउदा एउटा अलौकिक आनन्दको महसुस हुन्छ मलाई । त्यसैले समय र परिस्थितीले साथ दिएछ भने बालबालिकाको क्षेत्रमा केही गर्ने ठूलो धोको छ । साथी भाई सर्कलमा केही कुरा अघि बढीसकेको अवस्था पनि छ । त्यो योजनाबारे भने अहिल्यै नबोलूँ होला । भएछ भने पछि नै थाहा पाउनुहुनेछ अवश्य ।

    १६. अन्त्यमा ग्लोबल नेपाल न्युज र हाम्रो सँस्कृती पत्रिका मार्फत केही भन्नु छ कि ?

    हार्दिक आभार तपाई लगाएत सबै टीमलाई । कुनै समय म पनि साँस्कृतिक संघको जिल्ला समितीमा रहेर यसरी नै काम गरेको मान्छे हुँ । हाल केन्द्रमा छु तर आफ्नो जिल्लामा रहेको कमिटीको धेरै माया लाग्छ । जिल्लामा मेरो आवश्यकताको महसुस भएमा कुनै पनि बेलामा याहाँको साथीहरुसँग सहकार्य गर्न तयार छु । अरु त यही हो हामी सबै जहाँ रहेर जुनसुकै कर्ममा व्यस्त भएपनि आफ्नो मौलिक सँस्कृति र समुदायलाई नबिर्सौं । हामीले आफु र आफ्नो समुदायलाई नचिन्दा पटक पटक कतै न कतैबाट धोका खाएका उदाहरणरु प्रशस्तै छन् । यही क्रम चल्दाचल्दै हाम्रो पुस्तौं पुस्ता सकिएकोछ ।अव हाम्रो पुस्ता सचेत बन्नैपर्छ । सही गलत छुट्याउने जिम्मा हाम्रो हो अव । आफु र आफ्नो कर्तब्यलाई कहिल्यै नबिर्सौं । अहिले म एउटा सर्जकको हैसियतमा अन्र्तवार्ता दिईरहेकोछु । म पनि यही काभ्रेको धुलो माटोसँग खेल्दै हुर्केको हुँ भन्ने कुरा विर्सीएँ भने म मेरा साथीभाई ईष्टमित्र र समुदायको सँस्कृति केहीलाई पनि चिन्दिन । यो राम्रो होइन । आफ्नो बिगतलाई बिर्सीयो भने मान्छे मान्छे रहदैन । त्यसैले हामी जहाँ जसरी जिए पनि आफ्नो समाज, समुदाय र अमूल्य निधि आफ्नो मौलिक सँस्कृतिलाई सदैब शीरमाथि राखेर हिड्ने गरौं र असल मान्छे बनेर देखाऊँ । आफुले लिएको लक्षमा निश्चिन्त भएर अघि बढौं भन्न चाहान्छु ।

    -ढुँखर्क४ काभ्रेपलाञ्चोक
    हाल ललितपुर ।

    Promo:
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831