Tel: 0039 123 45 789 | Skype: info@domain.it

We're Coming Soon

We are working very hard on the new version of our site. It will bring a lot of new features. Stay tuned!


days

hours

minutes

seconds

Subscribe to our newsletter

Sign up now to our newsletter and you'll be one of the first to know when the site is ready:

Copyright © नवराज बुढा | Powered By Blogger | Published By Gooyaabi Templates
Design by AZMIND | Blogger Theme by NewBloggerThemes.com

मानवीय भावनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै साहित्य हो।- गीतकार पदमा लिंखा मगर

संखुवासभाको माम्लिङ्गमा जन्मनु भएकी गीतकार पद्मा लिंखा मगरले रूकुमको झुम्लावाङ्गलाई कर्मथलोका रूपमा स्वीकारेर 'नजर' एल्वम त्यसैका लागि तयार गर्नुभएको छ, बिषेशत: झुम्लावाङ्गमा बन्दै गरेको सामुदायिक स्वास्थ्य केन्द्रको कोषको लागी 'नजर' गीति एल्बम तयार गर्नु भएको छ। अहिले उहाँको एल्बम मिडियाहरुमा चर्चाको शिखरमा चड्दै छ। 


बिदेशमा बसेर पनि साहित्य सृजना गर्नु… त्यो पनि नारि श्रष्टा विदेश जस्तो ठाउँमा नेपाली भाषा साहित्यलाई अति मायाँ गर्नु हुन्छ। त्यसैको प्रतिफल भर्खरै मात्र काठमाडौँमा 'नजर' गीति एल्बम भब्यताको साथ लोकार्पण गरिएको थियो। तर उहाँ बिदेशमा भएकोले यो एल्बममा नेपाल बाट तिब्बत दर्लामी जस्ता सक्रिय युवा साहित्यकारहरुको उचित सल्लाह, सुझाव र  काभ्रे ढुङ्खर्कका संगीतकार राजेश थापाले उहाँको एकल शब्दहरूमा सङ्गीत भरेर रेकर्दिङ्ग लगायत सबै सहयोग गरेर यो अभियानलाई सफलतातर्फ उन्मुख गराउनु भएको छ। त्यसैले उहाँको साहित्यिक यात्रा र उहाँको 'नजर' एल्बको लागी नवराज बुढा 'नवीन उदासी'ले ग्लोबल नेपाल न्युज र केहि पत्रपत्रिकाहरुको लागि गरेको साहित्यिक भलाकुसारी प्रस्तुत छ: 
पदमा लिंखा मगर

१. स्वागत छ यहाँलाई ग्लोबल नेपाल न्युजमा !
- धन्यवाद । अनि हजुर लगायत सम्पूर्ण साहित्य, गीत/संगीत प्रेमी पाठक र श्रोताहरूलाई मेरो नमस्कार! सर्वप्रथम त हजुर लगायत ग्लोबल नेपाल न्युज परिवारलाई मेरा कुराहरू राख्नका लागि अवसर दिनु भएकोमा म, नजर टिम र झुम्लावाङ्ग भिलेज फाउन्डेशनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

२. अहिले तपाई विदेशमा हुनुहुन्छ, तर कुन देशमा हुनुहुन्छ बताइ दिनुहोस् न ?
-हजुर, म अहिले यू.एस.ए. मा छु ।

३. परिवार सबै विदेशमै हुनुहुन्छ, कति भयो विदेसिनु भएको ?
- हजुर, केही वर्ष भयो ।

४. विदेशको काम निकै व्यस्त त भइन्छ नै, तर तपाई ले यी व्यस्त समय बीच साहित्य सिर्जना गर्न कसरी समय मिलाउनु हुन्छ ?
-खासै त्यस्तो त लेखेकी छैन । कहिले कहीँ फुर्सद पाउँदा लेख्छु र साहित्य पढ्न मन पराउँछु । एक त म लेखनमा नयाँ, त्यसमा पनि कार्य व्यस्तताले गर्दा दिनु पर्ने जति समय दिन सकेकी छैन । 

५. साहित्य तपाईंलाई के हो जस्तो लाग्छ, तपाई को बिचारमा ?
- साहित्यलाई आ-आफ्नै दृष्टिकोणले परिभाषा दिने गरिन्छ र गरेको पाइन्छ । संक्षिप्त रूपमा भन्नु पर्दा व्यक्तिगत तथा आम मानवीय भावनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै साहित्य हो । तर भनिन्छ नि साहित्य समाजको प्रतिविम्ब हेर्न पाउने ऐना हो । म यस भनाई सँग आफूलाई नजिक पाउँछु । आफू नपुगेको नदेखेको ठाउँको/ व्यक्ति/वस्तु समाज, सुख, दुःख, पीडा...  आदिको पनि साहित्यबाट जानकारी लिन र  अनुभव गर्न सकिन्छ । यसमा गीत- संगीतको माध्यमले झनै ठूलो भूमिका खेल्छ । पढ्न नसक्ने र नचाहने ले पनि गीत आनन्दले सुन्न सक्छ ।

६. विदेशमा बसेर पनि साहित्य सिर्जना गर्न निरन्तर लाग्नु भएको छ, कहिले देखि, कसरी लाग्नु भयो ?
- स्कूलमा छँदा पहिलो पटक दाजुले साहित्य गोष्ठी हुँदा कविता लेख भन्नु भयो र सिकाउनु पनि भयो । त्यो बेला म सानै थिए । यही प्रेरणाबाट बाल कविता लयमा लेख्न थालेँ र कहिले कहीँ गीत पनि लेख्थें । हरेक साहित्य गोष्ठी छुटाउँदिनथें । जब मेरो स्कूले जीवन सकियो र थप अध्ययनको लागि कलेज तर्फ लागेँ, त्यस पछि मेरो लेख साथी र गुरुहरू बीच पनि नपुगेर ममा नै सीमित रह्यो । कहिले कहीँ एउटा दुईवटा लेख्थें अनि त्यत्तिकै कता पर्थ्यो थाहा नै हुँदैनथ्यो । गाउँबाट उच्च शिक्षा हासिल गर्न काठमाण्डौ आए पछि त लेखन तिर भन्दा पनि अध्ययन र संघर्ष गर्दा गर्दै समय बितेको पत्तै भएन ।

जब यू.एस.ए. आएँ, अनि घर र देशको धेरै सम्झना हुन थाल्यो । केही फुर्सदको क्षणमा यू-ट्युब आदिबाट नेपाली गीतहरू सुन्ने गर्थें । फेरि कहिले कहीँ लेख्न थालेँ र पहिले झैँ कता कता पर्थे । जतन चाहिँ गर्न जानिन । दुर्लभ जी (मेरा श्रीमान) ले सँगालेर राखि दिनुहुने रहेछ । उहाँले नै तिम्रो गीत रेकर्ड गराउ भन्नु भयो । मलाई त उहाँको प्रस्ताव ठट्यौलो लाग्यो । मलाई कहिल्यै रेकर्ड गर्न लायक गीत लेख्न सक्छु जस्तो लाग्दैनथ्यो । दुर्लभ जीले मलाई नभनी मेरो एउटा गीत संगीतकार राजेश थापा ज्यूलाई पठाइ दिनु भएछ। उहाँले गीतको भाव राम्रो लाग्यो भनेर जबाफ दिनु भए पछि अरू गीतहरू पनि लेख भन्नु भयो र मैले लेख्न थालेको हुँ । यस अर्थमा मैले रेकर्ड गर्नका लागि भनेर गीत लेख्न शुरु गरेको मात्र एक वर्ष जति भयो भन्दा हुन्छ ।

७. यहाँले साहित्य सृजना अलवा के-के गरेर दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ?
-सृजनालाई त्यति धेरै समय दिन सकिएको छैन । परदेशमा जहिले पनि व्यस्त भइने रहेछ । साहित्य अलवा चाहिँ नभएर दैनिक कार्य अलवा बचाउन सकेको थोरै समयमा पढ्न र केही लेख्ने गर्छु । 

८. घरदेशको साहित्य र परदेशको साहित्यमा के फरक पाउनु हुन्छ ?
-साहित्य त घरदेश होस् वा परदेश उस्तै नै होला । लेख्नेले घरदेशमा बसेर परदेशको कल्पनामा र परदेशमा बस्ने ले घरदेशको परिवेशमा उत्तिकै जीवन्त लेखिरहनु भएकै छ । त्यसैले लेख्ने मान्छेले जहाँबाट पनि उत्तिकै सशक्त लेख्न सक्छ जस्तो लाग्छ । तर, मेरो व्यक्तिगत कुरामा चाहिँ सायद म नेपालमा भएको भए लेख्न शुरु नै गर्ने थिइन कि जस्तो लाग्छ । नेपालमा हुँदा त्यही साहित्य र परिवेश वरिपरि हुन्थें अनि पढ्थें मात्र । आफू हराए जस्तो लाग्दैनथ्यो । तर जब परदेशमा आइ पुगेँ, त्यसपछि घर देश, परिवार, आफन्त र साथीहरूको याद धेरै आउन थाल्यो र कहिले कहीँ फेरि लेख्न थालेँ । यसरी मलाई चाहिँ परदेशले घरदेशलाई सम्झायो, जसले धेरै वर्ष पछि मेरो लेखनलाई ब्यूँझायो ।

९. आज/ भोलि गीत, गजलहरूमा बढी त माया प्रेमकै कुरा व्यक्त हुन्छन्, श्रोताहरूको रोजाइमा हो या किन होला ?
-यो परिवर्तनशील समयको माग नै होला जस्तो लाग्छ । जस्तो कि धेरै पहिले प्रेमी प्रेमीकाको माया प्रेम भनेको बढि आन्तरिक विषय हुन्थ्यो । यस्ता माया प्रेम सम्बन्धी गीत र गजलहरू गाउन त के आफूभन्दा ठूलोको छेउमा बसेर सुन्न पनि लाज लाग्ने समय थियो भने अहिले समय त्यस्तो छैन । खुलेर नै माया प्रेमको कुरा गरिन्छ । यसैको प्रभाव पनि होला ।

१०. कस्ता खालका सृजनाहरूले आम मानिसहरूको मन र मुटुलाई छुन्छन् ?
-मलाइ त लाग्छ हरेक खालका राम्रा सृजनाले आम मानिसको मन र मुटु छुन्छ । देश प्रेम, माया प्रीति, जनजीवन आदि सम्बन्धी सबै किसिमका गीतहरू चलेकै छन् । यसले के देखाउँछ भने शब्द, संगीत र स्वरको तालमेल मिलेमा जस्तो सृजनाले पनि आम मान्छेको मन र मुटुलाई छुन्छ । फरक यति हो कि व्यक्ति, ठाउँ, समय र परिस्थिति अनुसार कसलाई कहिले कुन, कसलाई कहिले कुन मन पर्छ ।

११. गीत लेखनको शिलशिला सँगै यहाँको एकल रचना भएको गीति एल्बम 'नजर' पनि दुई हप्ता पहिले काठमाण्डौमा सफलतापूर्वक विमोचन भयो । गीति एल्बम 'नजर' भित्र के कस्ता खालका गीतहरू रहेका छन् र  क-कसका स्वरमा गुञ्जायमान छन् ? यस बारेमा आफ्ना श्रोता तथा शुभचिन्तकहरूलाई के जानकारी दिनु हुन्छ ?

- अवश्य! 'नजर' एल्बम भित्र जम्मा सात वटा गीतहरू छन् । गीत सम्बन्धी मेरो सैद्धान्तिक ज्ञान नभएकोले सायद मैले भनेको नमिल्ला, तैपनि मैले जे कल्पना गरेर लेखेँ त्यो चाहिँ म बताउँछु ।

क) स्वदेश गान : विश्व माझ...उदय सोताङ्ग ज्यू र संगीता रानामगर ज्यूको स्वरमा । यसमा हाम्रो प्यारो देश नेपालको प्राकृतिक सुन्दरताको बारेमा वर्णन गरिएको छ ।

ख) रोमान्टिक : 
सागरभन्दा गहिरो... दीपक लिम्बु ज्यू र अञ्जु पन्त ज्यूको स्वरमा । यसमा श्रीमान/श्रीमती अथवा प्रेमी प्रेमिका बीच एक अर्काको माया प्रेम, विश्वास र भरोसाको वर्णन गरिएको छ ।

मेरो संसार... रिमा गुरुङ होडा ज्यूको स्वरमा । यस गीतमा एक आदर्श श्रीमतीले श्रीमान प्रति मेरो लागि तिमी नै सबै हौं भन्दै गरेको आदर र भरोसाको वर्णन गरिएको छ ।

मायाको तरङ्ग ... राजेश पायल राई ज्यूको स्वरमा रहेको यस गीतमा एउटा युवाको युवतिसँग आँखा जुधे पछि प्रेम गर्न थालेको एक तर्फी प्रेमको बारेमा छ । संगीतकार राजेश थापा ज्यूले केहि फरक पनको लागि थोरै पश्चिमी शैलीमा संगीत दिनु भएको छ, जसलाई युवा-युवतीहरूले मन पराउने छन् भन्ने आशा लिएकी छु ।

ग) निराश : गुनासो छ आफै सँग ... दीपक लिम्बू ज्यूको स्वरमा । यस गीतमा जिन्दगीमा कहिले खुशी त  कहिले दुःखी होइन्छ । तर जे जस्तो भए पनि अगाडि बढ्नै पर्छ भन्ने सन्देश छ ।

घ) बिछोड : "नजरबाट..." स्वरुपराज आचार्य ज्यूको स्वरमा र अर्को गीत "तिम्रो मुहार..." अञ्जु पन्त ज्यूको स्वरमा रहेका यी दुवै गीतहरूमा प्रेमिका/श्रीमती तथा प्रेमी/श्रीमान बीच एक अर्कालाई धोका दिएको वेदना छ ।

१२. जुन तपाई को एकल रचना भएको गीति एल्बम संगीत पनि संगीतकार राजेश थापाकै छ, सबै रचनामा उहाँ कै संगीत राख्नु को कारण कुनै आफन्तको नाताले हो या कसरी होला ?
-उहाँ र हामी बीचको परिचय चाहिँ गीतकार तिब्बत दर्लामी ज्यूको शब्द, उहाँको संगीत र दीपक लिम्बु ज्यूको स्वरमा सजिएको  "हेराइ नै मात लाग्ने ..." गीत मार्फत भएको हो । यू-ट्युब मा उक्त मीठो गीत सुने पछि दुर्लभ जीले उहाँ लाई सम्पर्क गर्नु भएको थियो । यो गीत हामीलाई यति मीठो लाग्यो कि मेरो गीत रेकर्ड गर्नका लागि प्रेरणा नै यो गीत बन्यो । गीति यात्राको हिसाबले उहाँ मेरो अभिभावक हुनुहुन्छ । त्यस्तै उहाँ सँग काम गर्दै जाँदा हामी नयाँ परिचित नभएर उहाँ मेरो आफ्नै भाइ हुनुहुन्छ जस्तै लाग्छ । हरेक काम उहाँले नै जिम्मा लिएर हामीलाई धेरै सजिलो गराइ दिनु भयो । त्यसैले हामी रगतको नाताले आफन्त नभए पनि विश्वास र भावनात्मक रूपमा आफन्त नै भएका छौं ।

१३. लेखक तथा रचनाकारहरू र संगीतकारहरूको जति राम्रो संगीत भए पनि गायक नै चर्चामा आउँछन्, यसरी रचनाकार र संगीतकार पर्दा पछाडि हुनुको प्रमुख कमजोरी कसको होला र यसमा सुधार ल्याउनु के गर्नु पर्ला ?

- यो विषयमा त म के बोलौं र । एक त म यो क्षेत्रमा नितान्त नयाँ व्यक्ति हुँ । मेरो व्यक्तिगत सोचाइ चाहिँ कुरा सर्जकको भन्दा पनि सृजनाको हो । कसको नाम आयो भन्दा पनि सृजना कस्तो भयो भन्ने नै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । शब्द, संगीत र स्वर एक अर्कामा प्रतिस्पर्धी नभएर परिपूरक हुन् । एउटा मात्रको कमी भयो भने गीत एउटा खुट्टा नभएको ओदान जस्तो अपूर्ण हुन्छ । जसको नाम आए पनि र जो छाँयामा परे पनि सृजना चाहिँ छायामा नपरोस् जस्तो लाग्छ । गीतकार, संगीतकार र गायक बीच आदर र सम्मान को भावनाले यो आफैँ सुधार हुन्छ जस्तो लाग्छ । कालान्तर सम्म बाँच्ने त आखिर सर्जक होइन सिर्जना नै हो । म जस्तो यो क्षेत्रमा नयाँ व्यक्तिले त अझ प्रतिभाशाली संगीतकार र राष्ट्रिय ख्याति प्राप्त गायक-गायिकाहरू मार्फत आफ्नो सृजनालाई दर्शक सामु ल्याउन पाएको छु, यो नै मेरो लागि त अहो भाग्य हो ।

१४. तपाई झुम्लावाङ्ग सामुदायिक स्वास्थ्य केन्द्रको विशेष सहयोगी पनि हुनुहुन्छ, यस संस्था बारे केहि बताई दिनुहुन्छ कि ? 

- झुम्लावाङ्ग गाउँ संस्थापना [Jhumlawang Village Foundation (http://www.jvf-nepal.org)] यो गाउँमा अहिले बसोबास गरिरहेका र प्रवासमा रहेका यस समाजका सदस्यहरूद्वारा विक्रम संवत् २०६६ साल मंसिर ३ गत्ते स्थापित तथा देशी- विदेशी स्वयम सेवकहरू सँगको सहकार्यबाट सञ्चालित गैर सरकारी सामाजिक संस्था हो । यो झुम्लावाङ्गवासीहरुको शिक्षा, स्वास्थ्य, आर्थिक, सांस्कृतिक तथा वातावरणीय विकासमा समर्पित छ । संस्थाको मुख्य उद्देश्य “दिगो विकास” को क्षेत्रमा उदाहरणीय काम गरि झुम्लावाङ्ग गाउँ जस्तै हाम्रो देशका अन्य गाउँवासीहरुलाई भौगोलिक रूपमा हामीहरू जो जहाँ भए पनि आफ्नो जन्मस्थानको लागि सबै मिलेर काम गर्नु पर्छ र गर्न सकिन्छ भन्ने सन्देश र हौसला दिनु हो । 

मेरो कर्म घर झुम्लावाङ्ग भएको ले यहाँ निर्माणाधीन तथा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्रको “विशेष सहयोगी” भन्दा पनि हाम्रो समाजका सम्पूर्ण सदस्यहरूले यस गाउँको दिगो विकासको लागि गरिरहेको पहल र योगदानमा मैले पनि आफ्नो क्षेत्रबाट निभाउनु पर्ने जिम्मेवारी निभाउने प्रयत्न गरेको हुँ ।  

१५. 'नजर' भित्र रहेको गीत आफ्नो देशको बारेमा माटो र मुटुको अनि राष्ट्रियताको भावनाले ओतप्रोत 'विश्व माझ स्वतन्त्र भूमि...' उदय सोताङ्ग र संगीता रानाको स्वरमा रहेको यो गीत अति मार्मिक छ, कस्तो परिवेशमा रहेर सिर्जना गर्नु भयो? 

- यो गीत चाहिँ मैले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधताको बारेमा लेखेको हुँ । प्राकृतिक सौन्दर्यको दाँजोमा कृत्रिम सौन्दर्य जति नै राम्रो भए पनि मन नतान्ने रहेछ । बनावटी न हो, भन्ने लाग्दो रहेछ । प्रवासमा रहेका अधिकांश नेपालीहरूको आँखा र खुट्टाहरू भौतिक रूपमा समृद्ध, आलिसन महल, अनि चिप्लो सडकतिर हुने भए पनि मन चाहिँ सधैँ आफ्नो गाउँ घरका पाखा पखेरा, गोरेटो, तराइका फाँटहरू, पहाड र हिमाल तिर नै हुन्छ । यति सुन्दर र प्यारो भूमि छोडेर बाध्यताले च्यापिएर आफ्नो मातृ भूमि बाहिर बस्नु परेको परिवेशमा यो गीत लेखेकी थिएँ । 

१६. तपाई गीत लेखनमा मात्रै होइन, गजल तिर पनि निकै रुची राख्नु भएको छ, भविष्यमा के बन्नु हुन्छ, गीतकार अथवा गजलकार ?

- गीति यात्रा मेरो लागि नयाँ हो भने गजल त्यो भन्दा पनि नयाँ! म पहिले गजल पनि सुन्थें मन पर्थ्यो तर गजल र गीतमा खास फरक के हो भनेर छुट्टाउनै सक्दिनथें । सामाजिक सञ्जाल फेसवुकमा नै जब युवा साहित्यकार नवराज बुढा नवीन उदासी ज्यू को शब्द, संगीतकार राजेश थापा ज्यु को संगीत र गायक दीपक लिम्बु ज्यूको स्वरमा "वसन्तमै उजाडि गएँ...." गजल सुने पछि यति मीठो लाग्यो कि अनि गजलमा पनि चाख बढ्न थाल्यो ।  गजल पढ्न थालेँ । यही गजल नै मैले बुझेर सुनेको पहिलो गजल हो l मलाई गजल प्रति रुचि बढ्दै गयो र मैले जानी नजानी लेखेका गजलहरू फेसवुक को भित्तामा शुभचिन्तकहरूलाई देखाएँ । 

मेरा शुभचिन्तकहरूको हौसला, सुझाव, सल्लाहले थप सुधार र मेरो गजल लेखनलाई थप परिष्कृत गर्ने ऊर्जा पाएँ । त्यसैले ती सबै हौसला र संरचनात्मक प्रतिक्रिया दिनुहुने सुन्दर मनहरू प्रति म आभारी छु । अहिले छन्दमा पनि लेख्न सिक्दै छु । मुख्य त समय दिन सकिरहेको छैन । जति समय दिन सक्छु, त्यो समयमा गीत र गजल, दुवै विधामा आफ्नो प्रयास जारी राख्ने छु ।

१७. एल्वमको डविङ्ग सिंगापुरमा गर्न कसरी सम्भव भयो ?
- गुणस्तरीय युक्त एल्बम मात्र बजारमा ल्याउनु पर्छ भन्ने कुरामा निष्ठा म्युजिक प्रा. लि. र हाम्रो एउटै मान्यता भएकोले लाग्ने खर्चमा कुनै सम्झौता नगरी सिंगापुर पठाएका हौं । “नजर” लाई बजारमा ल्याउनका लागि निष्ठा म्युजिक कम्पनीलाई जिम्मा दिए पछि हामीलाई सबै कुरा सहज भयो ।

१८. म्युजिक भिडियो बनाउनु भयो ? 
-  झुम्लावाङ्ग गाउँ संस्थापनाको मुख्य उद्देश्यहरूबाट, र मैले यस गीति एल्वमको सी.डी. विक्री वितरण र सिआरविटी पिआरविटीवाट सङ्कलित सम्पूर्ण रकम झुम्लावाङ्ग गाउँ संस्थापना द्वारा निर्माणाधीन तथा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्रको कोषको लागि दिने भनि गरेको निर्णय बाट प्रभावित भएर न्यूयोर्क स्थित मोक्तान डिजिटल भिडियो  (http://www.MoktanDigital.com) कम्पनीका सञ्चालक श्री शम्भु मोक्तान ज्यूले सहयोग स्वरूप आफ्नै लगानीमा एउटा म्युजिक भिडियो बनाइदिने हुनु भएको छ । कानुनी औपचारिकता को काम समाप्त हुँदा साथ म्युजिक भिडियोको काम शुरु गर्ने कुरा भइरहेको छ । 

१९. कुनै पनि सिडिहरू / एल्बमहरु निकाल्नु पर्यो भने मिडियाको मान्छे सँग लिङ्क हुनु पर्छ भन्छन्, तर तपाईले कसरी निकाल्नु भयो पहिलो एल्बम ?

- खोइ मिडिया सँग त त्यस्तो कुनै प्रत्यक्ष लिङ्क थिएन । “नजर” को तयारीमा हामीहरूको आफ्नो सोच र क्षमताले भ्याए सम्मको काम गर्दै गयौं । यसलाई श्रोताहरूको माझमा लिइनुको एउटा मुख्य उद्देश्य गीत संगीतको माध्यमबाट पनि “दिगो विकास” को क्षेत्रमा झुम्लावाङ्ग गाउँवासीहरूले आफ्नो गाउँलाई “नमुना गाउँ” बनाइ, उदाहरणीय काम गरि झुम्लावाङ्ग गाउँ जस्तै हाम्रो देशका अन्य गाउँवासीहरुलाई 'भौगोलिक रूपमा हामीहरू जो जहाँ भए पनि आफ्नो जन्मस्थानको लागि सबै मिलेर काम गर्नु पर्छ र गर्न सकिन्छ' भन्ने सन्देश र हौसला दिने जुन अभियान चलाइरहनु भएको छ, त्यसमा होस्टेमा हैँसे गर्ने हो । 

गाउँ नै गाउँले भरिएको नेपालमा हरेक गाउँहरूको विकास हुनु भनेको नै समग्रमा देशको विकास हुनु हो । यसमा हरेक नेपालीहरूले आ-आफ्नो ठाउँबाट भूमिका र जिम्मेवारी निभाउनु पर्छ भन्ने कुरा  झुम्लावाङ्ग गाउँ संस्थापना र “नजर” को समूहले भावनामा मात्रै होइन, काम नै गरेर दिन खोजेको यो सकारात्मक सन्देशलाई सञ्चारकर्मीहरूले पनि कल्याणकारी पत्रकारिता गरेर सहयोग गरिरहनु भएको छ । 

“नजर” लाई सञ्चारकर्मीहरू, श्रोताहरू र शुभचिन्तकहरू ले जुन माया र सहयोग गर्नु भएको छ, यसलाई मैले थप जिम्मेवारीको रूपमा लिएको छु, जसलाई पूरा गर्न हर प्रयास गर्ने छु । 

२०. कुराकानीको क्रममा कुनै कुरामा गल्ती भए क्षमा प्रार्थी छु, र अन्त्यमा तपाइले भन्न भुलेका र मैले सोध्न भुलेका केहि कुराहरू छन् भने भन्न सक्नु हुन्छ ।

- हजुर म पनि बोल्ने बानी नभएकोले कति भन्नु पर्ने कुरा छुटाएँ हुँला र नभने पनि हुने कुरा भनेँ हुँला । यदि त्यस्तो भएको भए माफी चाहन्छु । 

पुन: यस एल्वमका सबै गीतहरूमा मीठो संगीत भरी सम्पूर्ण कामको जिम्मेवारी लिनु हुने संगीतकार राजेश थापा ज्यू तथा "नजर" एल्बम तयार पार्ने क्रममा आ-आफ्नो स्थानबाट माया र साथ दिनुहुने सम्पूर्ण महानुभावहरूलाई र विशेषगरी सुमधुर स्वर भरि दिनुहुने गायक-गायिकाज्यूहरू, संगीत संयोजक ज्यूहरू, सुन्दर आवरण बनाइदिने यूनिग्राफिक्स, गीत रेकर्डिङ स्टुडियोहरू, रेकर्डिस्टजनहरू. वाधवादकजनहरू, आर्किटेक्ट अजय मगर, समीक्षा गरि दिनुहुने  कवि एवं प्राज्ञ श्री श्रवण मुकारूङ्ग ज्यू  र लोकप्रिय संगीतकार श्री राजु सिंह ज्यू, कवि एवं पत्रकार सचित राईज्यू, ल्याण्डमार्क आर्किटेक्चरल डिजाइन स्टुडियो र यस एल्वमको उत्पादन तथा बजार व्यवस्थापन गरि दिनु हुने श्रीमती नानु कला राई ज्यू / निष्ठा म्युजिक कम्पनी परिवार, सम्पूर्ण मिडियाहरू साथै एल्वम निर्माणको क्रममा शुरु देखि विमोचन र हालसम्म हामीलाई माया गरी प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नु हुने आदरणीय साहित्य/ संगीत प्रेमी अग्रज, सहयोगी र शुभचिन्तकहरूलाई हृदयबाटै धन्यवाद टक्राउँछु । 

अन्तमा,  साहित्य जगतमा मेरो त्यस्तो केही योगदान नभए पनि प्रोत्साहन स्वरूप मेरा केही कुरा राख्ने मौका दिनु भएकोमा हजुर लगायत ग्लोबल नेपाल न्युज प्रति कृतज्ञ छु ।  


धन्यवाद !
पद्मा लिंखा मगर
न्यूयोर्क, यू.एस.ए
आषाढ २५, २०७० 

Powered by Blogger.

Blog Archive

Stay Connected

Top Menu

Travel

Viral

Popular Posts

Fashion

Hot News

Contact Form

Name

Email *

Message *

top_rightads

Sidebar Ads