• गजल लेख्नका निम्ति कम्तिमा पनि यसको शास्त्रीय मूल्यमान्यता बुझ्नै पर्ने हुन्छ-माटो र मुटुका गजलकार श्रीजन श्री

    माता 'नन्दादेवी पाल र पीता मान बहादुर पाल'का  सुपुत्रका रुपमा निसिल ७ धाप, दार्चुलामा बि.स. २०३५ माघ २० गते (प्रमाण पत्रहरुमा बि.स. २०३७ असार ७) जन्मनु भएका गजलकार "श्रीजन श्री" अनाममण्डली मलेसियाका संस्थापक अध्यक्ष,अन्तराष्ट्रिय गजलमन्चका केन्द्रीय सदस्य र विश्व नेपाली साहित्य महासंघ मलेसियाका सचीव हुन।

    मलेसियामा नेपाली गजललाई भित्र्याउने प्रमूख श्रेय पाएका श्रीजन, कुसल संगठक, सम्पादक,समालोचक र गजल प्रशिक्षक हुन्। उनी विभिन्न साहित्यिक र सामाजिक संघ संस्थाहरुसँग पनि आवद्द छन ।

    उनका (१)– माटो हाँस्छ -२०६४(एकल), (२)– विम्व २०६४(सह), (३)– माटो भन्नु मुटु रै'छ -२०६६(एकल) र (४)– सृजनाका स्वरहरु -२०६७ (सह),(५)- समुद्र दन्केपछि-२०६९(सह) लगायतका दर्जनौ संग्रहहरु प्रकाशित छन् । यात्रा साहित्य संगालो र सृजनाका स्वरहरुको सम्पादक समेत रहेका श्रीजन श्री “दीपाञ्जलि”का  सम्पादक पनि हुन।

    प्रवासी नयन साहित्य समाज जोहोर मलेसिया, हाम्रो आवाज साप्ताहिक मलेसिया, क्षेत्रीय समाज मलेसिया, र उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसियाबाट सम्मानित श्रीजन, सुदूरपश्चिम सेवा समाज मलेसियाद्वारा "पश्चिमी तारा"को उपाधी बाट  अभिनन्दित भै सकेका छन भने, .....साहित्य मञ्च काठमाण्डौँबाट पनि पुरस्कृत भएका छन। अनेसास मलेसियाबाट महाकवि देवकोटा पुरस्कार बि.स. २०६४ प्राप्त र तन्नेरी डट कम द्वारा बि.स.२०६६का लागि "बर्ष तन्नेरी" घोषित श्रीजन श्री जल्दबल्दा राष्ट्रिय गजलकार हुन। आफ्नै प्रकारको शैली र अभिव्यक्ति कौशल उनको  चिनारी हो। विशेसत: उनको  कलम माटो र मुटुमा चुर्लुम्म डुबेको छ। यसै बिषय बस्तुको बारेमा नेपाल पृष्ठभूमि साप्ताहिक (मलेशिया) ग्लोबल नेपाल न्युज (यु.के) लगायत अन्य थुप्रै पत्र पत्रिकाहरुको  लागि नवराज बुढा 'नवीन उदासी'ले गरेको उनै अग्रज गजलकार श्रीजन श्री संगको कुराकानी प्रस्तुत छ:
    श्रीजन श्री


    (१)स्वागत छ यहाँलाई ग्लोबल नेपाल न्युजमा।
    - धन्यवाद


    (२)कसरी व्यतित हुदैछन् दिनचार्याहरु?
    -नियमित कर्म त छदै छ त्यसका अलावा अध्ययन, लेखन र साहित्यिक क्रियाकलापमा नै व्यस्त भइन्छ।


    (३) कती भयो विदेशिनु भएको ?
    -जिन्दगीको एउटा याम पुरै छलिएछ। अझ बढी नै भन्नु पर्ला त्यो भन्दा पनि।


    (४)साहित्य क्षेत्रमा कहिले देखि र कसरी लाग्नु भयो?
    -साहित्य क्षेत्रमा कसरी लागेँ त्यो त थाहा छैन। यद्धपि चेतनाको बिर्को उघ्रेदेखि यस क्षेत्रमा समर्पित छुँ। मलाई सम्झना हुन्छ कि मैले पहिलो रचना लेखेको पनि २१ बर्ष बिति सकेछ। 


    (५)आम मानिसहरुको बुझाई र तपाईंको बिचारमा साहित्य के हो जस्तो लाग्छ?
    - सवैका आ-आफना बुझाईहरु हुन्छन्, आ-आफना विश्लेसण र परिभासाहरु हुन्छन्, आ-आफना तर्क-वितर्कहरु हुन्छन्। म त भन्छु साहित्यकलाई  परिभाषा भित्र कैद गर्न  सकिदैन। यो रहश्य हो। साहित्यको परिभाषा गर्न खोज्नु र समुद्रलाई अन्जुलीमा उचाल्न खोज्नु उस्तै हो। त्यसैले साहित्य 'साहित्य' हो।


    (६)सुरुवाती दिनहरुमा साहित्यमा कुन बिधा मार्फत प्रवेश गर्नु भयो?
    -निबिधा अर्थात अबिधा मार्फत प्रवेश गरेँ भन्ने लाग्छ। किनकी त्यतिखेर म सामान्य भावनाहरुमा मात्र पोखिन्थेँ। सामान्य भावनाहरु मात्र कोर्थेँ।  र ति कुन बिधा अन्तरगत पर्थे स्व्यम् अनभिज्ञ थिएँ। बिधा भनेको के हो ज्ञात नै थिएन। पछि थाहा हुँदा त साच्चै अभिदात्मक भावनाहरु मात्रै कोरेको रहेछु मैले।


    (७)आज पनि निरन्तर गजल बिधामै कलम चलाउदै हुनुहुन्छ। गजलमै लाग्छु भनेर हो कि?
    - निश्चय पनि।

    (८)गजल 'गजल' भन्न्मा जति सजिलो छ लेखनमा त्यतिकै गाह्रो छ। त्यसैले गजल लेख्नका  लागि कसरी लेख्दा सजिलो हुन्छ?
    - निश्चितरुपमा सुन्दा जति कर्णप्रिय, सरल र सहज लाग्छ लेखनमा त्यति सहज छैन गजल। यो क्लासिकल बिधा हो। गजल लेख्नका  निम्ति कम्तिमा पनि यसको शास्त्रीय मूल्यमान्यता बुझ्नै पर्ने हुन्छ। त्यतिले मात्र पुग्दैन। लय+भाव+शैलीको चमत्कार सर्वथा अपेक्षित हुन्छ यसमा।


    (९) गजल लेख्दा मुख्य ध्यान दिनु पर्ने कुराहरु के-के हुन? सिकारुहरुलाई केही बताइ दिनुहोस् न।
    -हामी सवै सिकारु नै हौँ। मानिस कहिल्यै पूर्ण हुँदैन। जिन्दगीभर सिकी नै रहन्छ। त्यसैले ऊ मात्र विद्यार्थी हो। गुरु त समय, परिवेश,जिन्दगी,प्रकिर्ती,बिभिन्न अवस्थाहरु र घटनाहरु मात्र हुन। र पनि गजल शास्त्रीय बिधा भएकाले यसो भनेर मात्र पार लाग्दैन। यो 'गुरू चेला' परम्परामा  अधारित छ। यसका शास्त्रीय मान्यताहरु(सँरचनात्मक अवयवहरु)को ज्ञान हुनु पहिलो सर्त हो। जस अन्तरगत 'रदिफ,कफिया, मतला,मकता,उला,सानी, सेर, तखल्लुस लगायतका तत्वहरु पर्दछन्। यि सवै अवयवहरुहरुलाई ठिक-ठिक ठाउमा जोडेर गजलको बाहिरी स्वरुप तयार गरिन्छ। तर यसको मूख्य शक्ति(प्राण) भनेको लयात्मक माधुर्यता, कुसल भावमन्जरी, बिम्वप्रतीकको ठीक-ठीक संयोजन र शैलीगत(इवारत, ईशारात र अदा) चमत्कारीता नै हो। जसले यि कुराहरु बुझेर आफ्नै प्रकारको विशेस अभिव्यक्ति कौशल(अन्दाजेवया)को झट्का दिन सक्छ ऊ सधैं पृथक र श्रेष्ठ बन्छ।


    (११) नेपाली  गजल नेपालमा कहिले र कसरी भित्रियो?
    -विदितै छ कि वि.स. १९४०को दशकमा मोतिराम भट्ट, लक्ष्मीदत्त  पन्त  लगायतको सक्रियता र सहकार्यले हिन्दि-उर्दू भाषा साहित्यको राजमार्ग हुँदै   नेपाली साहित्यमा गजल भित्रिएको थियो। 

    (११) गजल लेखनका सुरुवाति दिनहरुलाई सम्झिदा कस्तो अनुभूति हुन्छ?
    -आफ्नो वाल्यकाल सम्झिदा स्वभाविक रुपमा जसलाई पनि रमाइलो अनुभूति हुन्छ। तर अहिले जस्तो सिक्ने र सिकाउनेहरु अत्यन्त न्यून थिए त्यतिबेला। गजल लेख्न  चाहदा चाहदै पनि कुना कन्दराका आकांक्षि सर्जकहरुले सिक्न पाउदैन थिए। अहिलेको जस्तो जताततै गजलिय संस्थाहरु, र  गजलिय कार्यक्रमहरु थिएनन्।

    (१२)केही बर्ष पहिले "माटो हाँस्छ-2064" र "माटो भन्नु मुटुरै'छ-2066"  यी दुइटा गजल सँग्रह ल्याउनु भयो कस्तो अनुभव गर्नु भयो सँग्रह प्रकाशन गर्दा?
    -सँग्रह प्रकाशन गर्दा म सगरमाथाको चुचुरोमा थिएँ। एकदुइ बर्षपछी अलिकति परिपक्व हुँदै जादा आधार सिविर सम्म झरेँ।  अहिले त केचनामै पुगेको छुँ। यो मेरो व्यक्तिगत मुल्याङ्कन हो। कारण यि दुवै सँग्रहहरु  रहरका परिणति थिए। आजभोलि डर लाग्छ कि कतै मैले गजललाई अन्याय त गरिनँ? यद्धपि पाठकहरुले अत्यन्तै मन पराइदिनु भयो। राम्रो प्रतिकृया आयो। आइरहेछ।

    (१३)अहिले बजारमा "माटो हाँस्छ" र "माटो भन्नु मुटुरै'छ"को अवस्था कस्तो छ? र यस बारेमा  पाठकहरुलाई के जानकारी दिनु हुन्छ?
    -म आँफै भने सन्तुस्ट छैन यि सँग्रहहरु बाट। र पनि पाठकहरुले "माटो हाँस्छ" र "माटो भन्नु मुटुरै'छ"लाई मन पराइदिनु भयो। राम्रो मुल्याङ्कन गरी दिनु भयो यसका लागि हिर्दय देखि नै आभारी छु। अहिले दुवै सँग्रह करिव-करिव सकिएको अवस्था छ। केही प्रति ' ऐरावती प्रकाशन बगबजार काठमान्डौ'मा र दुइचार प्रति म सँग सुरक्षितछन् इच्छुक पाठकहरुलाई उपलब्ध गराउने कोसिस गर्ने छु।

    (१४) यहाँले मलेसियाको नेपाली गजलको समालोचना समेत गरि सक्नु भएको छ, कस्तो पाउनु भयो मलेसियामा नेपाली गजलको अवस्था?
    -उहिले र अहिलेको अवस्थामा आकाश र पतालकै भिन्नता देखिन्छ। हरेक प्रकारले। उहिले अभिदात्मक गजलहरु मात्र लेखिन्थे अहिले गुणस्तरीय पनि लेखिदै छन्। उहिले दुइचार जना मात्र लेख्नु हुन्थो अहिले सयौ जना लेख्नु हुन्छ। उहिले सस्तो भावना कोरेर गजल शीर्शक दिइन्थ्यो अहिले गजल नै लेख्ने भनेर लेखिदैछन्। राम्रो अवस्था छ अहिले।

    (१५)मलेसियामा नेपाली गजललाई संस्थागत गर्नु भयो। अनाममन्डलीको अध्यक्षमा रहेर पनि काम गर्नु भयो, यो संस्थाको बारेमा भन्नु पर्दा?
    -जतिखेर मैले मलेसियामा नेपाली गजललाई संस्थागत गर्ने प्रकृया चलाएको थिएँ त्यतिखेर परस्थिती एकदमै विसम थियो। त्यो प्रतिकूलताका बाबजुद पनि हामीले मलेसियामा नेपाली गजललाई संस्थागत गरी छोड्यौँ। टङ्क चन्द, रुद्र मिश्र, प्रेम श्रेष्ठ'दीन', रुबेन पुन, सन्तोष लिङदेन, सिशम श्री र रमेश'गोठालो'हरुको अथक योगदान रह्यो मन्डली हेतु। स्थापना काल देखिका तीनटा कार्यकाल मेरै नेत्रित्वमा बिते। दुइटा कार्यकालमा हामीले फलामकै चिउरा चपाउनु पर्‍यो। तेस्रो कार्यकाल सम्म आइपुग्दा एउटा मूलबाटो तयार  गरी सकेका थियौं।  गजल गोस्ठिहरु, दीपान्जलि पत्रीका(सम्भवत: प्रवासबाट पहिलो गजल प्रधान पत्रिका हुनुपर्छ)को प्रकाशन, सर्जकहरुका गजल सँग्रहहरुको प्रकाशन/संयोजन, गजल प्रशिक्षणहरु, गजल प्रतियोगिताहरु, गजल अन्तरकृयाहरु,  सयुक्त गजलसँग्रह 'समुद्र दन्केपछि'को प्रकाशन, विविध जयन्तिहरु, नेपालदेखि  नै गजल गुरु मगाएर प्रशिक्षण र  श्रस्ठा र संस्थाहरुलाई सम्मान जस्ता कार्यक्रमहरुको आक्रमक निरन्तरताले गर्दा मलेसियाको  नेपाली गजल सिङ्गो  नेपाली गजलकै अङ्ग बन्न पुगेको छ।
    र अहिले मन्डली नेत्रित्व निर्माणको  प्रकिर्यामा छ। संस्थाभित्रका सवै साथीहरु जस्तोसुकै बिसम परिस्थितीमा पनि कुशल नेत्रित्व गर्न सक्ने क्षमतावान हुनुहुन्छ। गनिन्द्र विवश, राज अबिरल यात्री, मनोज बिराली, भिम स्नेही, सोमनाथ सुवेदी, नन्द श्री, राजकुमार तरेवा, र निस्चल परदेशी जस्ता होनहार यूवा गजलकारहरु मन्डलीका मेरुडण्ड हुन। अहिले उहाहरुले नै मन्डलीको नेत्रित्व गरी रहनु भएको छ।

    (१६) एउटा साहित्यकार विदेशमा गुमनाम हुनु पर्दा यहाँको दुखेसो के छ?
    - "मनको वह न कह" भन्छन्। कतिबेला नबोलेरै पनि धेरै कुरा बोलिएको हुन्छ। के दुखेसो शब्दमा व्यक्त गर्न सकिएला र?

    (१७)विदेशमा बिभिन्न बाधा अड्चनका बिच पनि  निरन्तर साहित्यमा  लागिरहनु भएको छ, यदि तपाईं नेपालमै भएको भए कुन स्थान सम्म पुग्नु हुन्न्थ्यो?
    -सच्चा सर्जकले स्थानमा होइन सिर्जनामा विश्वास गर्छ/गर्नु पर्दछ। रह्यो कुरा नेपालमै भएको भए?भन्ने। प्रविधी र विविध कारणले विश्व नै एउटा गाउ जस्तो भैसकेको परिप्रेक्षमा  को कहाँ बसेर कर्म गर्दै छ भन्ने कुरा गौण हो। तर को के गर्दै छ र समाजलाई के दिदै छ भन्ने कुरा प्रधान हो। अहिले यति भन्छुँ कि नेपाली साहित्यबाट 'प्रवास' शव्द झिकी दिने हो भने नेपाली साहित्य नै अपाङ्ग बन्छ। मैले पनि प्रवासमा बसेर नेपाली साहित्यका लागि(समाजका लागि/देशका लागि)  केही गरेको रहेछु भने पाठकहरुले मुल्याङ्कन गरी रहेका होलान। गरी रहेछन। म त चाहेर पनि  मेरो अनुहार स्वयम् हेर्न सक्तिन।

    (१८) आफूले आफूलाई मुल्याङ्कन गर्दा कस्तो अवस्थामा छु जस्तो लाग्छ?
    - म मेरै अवस्थामा र मेरै ठाउमा छु। यो तपाईं र तपाईंहरु जस्तै पाठकहरुको मायाले सम्भव भएको हो। आभारी छु।

    (१९)विदेशको जागिर सँगसँगै लेखनका निम्ति कसरी समय निकाल्नु हुन्छ?
    -"जहा इच्छा त्यहा उपाय"

    (२०)तपाइका एकल र थुप्रै संयुक्त गजल संग्रहहरु आइरहेकाछन्, तर गायन तिर रेकर्डतिर सोच्नु भएन नि किन?
    -आर्थिक समस्याकै कारणले हो। यद्धपी एउटा गजल भने कम्पोज भैसकेको छ। निकट भविश्यमै यहाँहरुले श्रवण गर्न पाउनु हुनेछ।

    (२१) अलिकति प्रसङ्ग बदलौ, 'श्रीजन श्री' नाम आफू साहित्यमा सिर्जनशील भएकैले राख्नु भएको हो कि? वा कसरी राख्नु भयो?
    - अलिकति त्यो पनि हो। अलिकति रहर र अलिकति लहड पनि हो। र सवै भन्दा ठूलो कुरो जातीय अहंकारका बिरुद्द पनि हो।

    (२२) यहाँले  गजल प्रधान पत्रिका "दीपान्जलि"को पनि सम्पादन गर्नुहुन्छ। यो पत्रिकाका पाठकहरुलाई के जनकारी गराउनु हुन्छ?
    -हिजोको अङ्क देखि "दीपान्जलि"लाई मलेसियाव्यापि मात्र होइन  सिङ्गो प्रवासी अङ्क बनाएको छ अनाममन्डली मलेसियाले। त्यसैले  नेपाल बाहिर  जुनासुकै मुलुकमा रहेर पनि गजल सिर्जनमा समर्पित सर्जकमित्रहरुलाई "दीपान्जलि" सँग नजीक रहन हुन आग्रह गर्दछुँ। यहाँहरुका उत्कृष्ट गजलहरुको "दीपान्जलि" सदैव स्वागत गर्दछ।

    (२३)अब नयाँ आउने गजल सिकारुहरु सँगै "दीपान्जलि"लाई जोडेर के भन्नु हुन्छ?
    -"दीपान्जलि" यहाँहरुकै हो। अनाममन्डली यहाँहरुकै हो। तपाईंका सिर्जना ल्याउनुस्  दीपान्जलि र अनाममन्डलीले उचित स्थान र मन्च दिनेछ।

    (२४)अन्यमा ....?
    -यो सिलसिला जारिरहोस् अनन्त-अनन्त सम्म।


  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831