Tel: 0039 123 45 789 | Skype: info@domain.it

We're Coming Soon

We are working very hard on the new version of our site. It will bring a lot of new features. Stay tuned!


days

hours

minutes

seconds

Subscribe to our newsletter

Sign up now to our newsletter and you'll be one of the first to know when the site is ready:

Copyright © नवराज बुढा | Powered By Blogger | Published By Gooyaabi Templates
Design by AZMIND | Blogger Theme by NewBloggerThemes.com

डायस्पोराबाट आएका साहित्य सिर्जनाहरुमा देश दुःखेको पाउछु-युवा गजलकार तिब्वत दर्लामी

युबा स्रष्टा तिब्वत दर्लामीको जन्म काभ्रे जिल्लाको साल्धारागा.बि.स. वडा नं ४ भ्याकुरेमा पिता गोपाल बहादुर दर्लामी र माता टिका माया दर्लामीको कोखबाट भएको हो  |  सानै उमेर देखि नै साहित्यमा अभिरुची राखेर साहित्यको सबै विधामा रहेर कलम चलाउँदै आउनु भएको छ  भने मैदान' साहित्यिक त्रैमासिक पत्रिकामा प्रधान सम्पादक र 'काभ्रेली मगर
आवाज' सम्पादन सम्म गर्नु भएको छ |  तिब्वत दुर्गम बिकास जन सेवा क्लबको सचिव र  नेपाल मगर बिद्यार्थी संघ काभ्रेको अध्यक्ष समेत रहेर सानै उमेरमा धेरै अनुभब बटुली सक्नु भएको छ| साथै अब छिट्टै एकल गजल सङ्ग्रह र
संयुक्त गीति एल्बम पनि बजारमा आउंदै छ | यस्तै विषय बस्तुको सेरोफेरोमा रहेर ग्लोबल नेपाल न्युजको लागि नविन उदासीले साहित्यिक स्रष्टा तिब्वत दर्लामी संग बिबिध बिषयमा गरेको कुराकानी प्रस्तुत छ:



१. यहाँलाई स्वागत छ ग्लोबल नेपाल न्युज यु.के. मा ।
> हजुर यहाँलाई धेरै धन्यवाद। ग्लोबल नेपाल न्युज यु.के. वेभ पत्रिकाका सम्पूर्ण पाठकहरुमा न्यानो नमस्कार । झोर्ले ।

२. तपाईको साहित्यिक यात्रा र तपाइको बारेमा बताईदिनुस् न ।
> मेरो घर काभ्रे जिल्लाको अत्यन्तै दुर्गम गाउ साल्धारामा पर्छ । काभ्रे जिल्लाको जुम्ला हुम्ला भनेपनि हुन्छ । निम्न मध्यम बर्गिय परिवारमा जन्मिएँ । आमा बुवा सहीत चार दाजु भाई र एक्ली दिदीको माया र सामिप्यतामा हुर्की बढेको
हुँ । हाल दाजु दिदीहरु सबै आ-आफ्नै पेशा र घरजममा लागिसक्नु भएकोछ । तर म चाँही काठमाण्डौ खाण्डोभित्रै भविश्य निर्माणकै अभियानमा छु । जिन्दगीलाई बुझ्दैछु । देश दुनियाँलाई चिहाउदैछु काठमाण्डौको  खाल्डोबाट ।

र मेरो साहित्यिक यात्राबारे भन्नु भन्दा पनि खास म आफुलाई कुनै साहित्यकार हुँ भन्ने त ठान्दिन तर साहित्य अनुरागी अवश्य  हुँ ।  करिब आठ दश कक्षा पढ्दादेखि नै साहित्यिक पुस्तकहरुको अध्ययनबाट साहित्यप्रति
मेरो अभिरुची बढेको हो। भुपी शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे', बिश्वेश्वर प्रसाद कोईरालाको 'तीन घुम्ती' , 'नरेन्द्र दाई' , पारिजातको 'शिरिषको फूल' र प्रकाश कोवितको उपन्यासहरु त्यतिबेलै पढेको हुँ। त्यसबेला देखि नै साहित्यप्रति मेरो लगाव बढेको हो । त्यसबेला मैले कोरेका कविताहरु कापीको पन्नामै सिमित हुन्थ्यो। कसैलाई देखाउन लाज लाग्थ्यो र लुकाएर राख्थेँ । त्यस्तै ६३ सालतिर राजधानी छिरेपछि मात्रै मैले साहित्यको विभिन्न बिधामा मनको भावनात्मक संवेगहरुलाई अभिब्यक्त गर्दै आएकोछु।

३. दिनहरु कसरी वित्दैछ र साहित्य सिर्जना बाहेक अरु के के गर्नुहुन्छ ?
> दिनहरु त केहि नगरी आफै पनि वित्दो रहेछ समयको रफ्तारसँगै । सके त यो समयलाई च्याप्प समातेर राख्न मन लाग्थ्यो । समयलाई कस्ले रोक्न सक्ने ? तर समयको गतिलाई रोक्न खोज्नु मुर्खता हो। समय सँगै चल्न सक्नु पर्ने रहेछ। हाल चै म
नेपाल युथ फाउण्डेशन नामक एक अन्तराष्टिय गैर सरकारी संस्थामा कार्यरत छु।साहित्य सिर्जना र यो पेशा एकसाथ चलिरहेकोछ ।

४. लेखनमा कसरी अगाडी बढ्नुभयो र लेखनको प्रेरणा केलाई मान्नुहुन्छ ?
> मुलतः फेसबुक दुनियाँमा छिरेपछि नै मैले लेखनलाई प्राथमिकतामा राखेको हुँ । त्यस भन्दा अगाडी कोरिएका गीत गजल कविताहरु त्यतिक्कै हराएर गए।

यसो हेर्छु । सबै मित्रहरु र अग्रज स्रष्टाहरु म भन्दा कुनै न कुनै रुपले जान्ने, बुझ्ने र प्रभावशाली देख्छु । हर समय उहाँहरुबाट केही न केही सिकिरहेको हुन्छु । तसर्थ उहाँहरु सबैलाई म मेरो प्रेरणाको स्रोत मान्छु।

५. तपाई फेसबुकमा साहित्य सिर्जना मार्फत धेरै जनासँग परिचित हुनुहुन्छ । के जुकर बर्गले यो फेसबुक नबनाईदिएको भए पनि तपाई यसरी चर्चामा आउन सक्नु हुन्थ्यो ?

> हेहेहे...रमाईलो तर अति सान्दर्भिक प्रश्न गर्नुभयो । हो, वास्तवमा फेसबुकले मभित्रको सुषुप्त अवस्थामा रहेको भावनात्मक तरँगहरुलाई अँकुराउन ठुलो मद्दत गर्यो । तर म त्यस्तो चर्चित ब्यक्ति चै हैन । मेरो फ्रेन्ड लिष्टमा करिब दुई हजार सर्जक र साहित्य अनुरागी साथीहरु हुनुहुन्छ । उहाँहरुले मेरो रचना पढेरसल्लाह सुझाव र हौसला दिनुहुन्छ । त्यसैबाट म निक्कै हौसिन्छु पनि । फेसबुकमा छिर्दाका शुरुवाती दिनहरुमै मैले कवि मनु लोहोरुङ दिदी, कृष्ण वस्ती सर, खगेन्द्र
पन्धाक लिम्बू, दीप्स शाह, सुजीत वस्ती, शशी थापा सुब्बा, साबी श्रेष्ठ र सुजन बैरागी जस्ता अग्रज तथा समकालिन मित्रहरुलाई साथी बनाउन पुगेछु । उहाँहरुकोरचनाहरु वाचन गर्दा गर्दै आफुले पनि केही लेखेर उहाँहरुलाई देखाउथेँ र मीठो
हौसला पाउथेँ । त्यसपछि नै अरु साहित्यिक साथीहरुविचमा मेरो नाम पनि सुनिन, चिनिनर पढिन थालेको हो भन्ने लाग्छ । सत्य कुरा भन्छु यदि जुकर बर्गले फेसबुकनबनाईदिएको भए म यतिबेला अरु कुनै सस्तो मनोरञ्जनात्मक साईटहरुमा 'हट एण्डसेक्सी' मोडलहरुको तस्वीर हेर्दै रमाईरहेको हुन्थेँ होला हेहेहेहे.....

६. आठ दश कक्षामा पढ्दा देखिको साहित्य प्रतिको मोह र अहिलेको बर्तमान साहित्यको मोहमा कत्तिको फरक पाउनु भएको छ ?
> आठ दश कक्षामा पढदा नेपाली विषयमा समाबेश कथा, कविता र जीवनीहरु पढ्न खुबैरुची राख्थेँ । हामीलाई नेपाली बिषय पढाउनुहुने शेखर नेपाल सर हुनुहुन्छ । उहाँले कहिलेकाँही कोर्ष भन्दा बाहिरको कथाहरु सुनाउनुहुन्थ्यो । कविताका
हरफहरु सुनाउनुहुन्थ्यो । महाभारतका कुनै रोचक अँशहरु सुनाउदा साँच्चै रमाईलो लाग्थ्यो । आज भोली विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागी हुन्छु । साहित्यका विभिन्न बिधाका थुप्रै पुस्तकहरु किनेर पढ्न थालेको छु । यसो भन्छु
कि आठ दश कक्षा पढ्दाखेरिको साहित्यिक मोह यतिबेला साहित्य अध्ययन र लेखनमा रुपान्तर भएको छ ।

७. २०६२/६३ साल देखि नै गजलको अध्ययन गर्न थाल्नु भयो । त्यो अध्ययन गर्दाको पल आज कस्तो लाग्छ ?
> हो, बास्तबमा २०६२/६३ भन्दा अगाडी मलाई गजलबारे कुनै ज्ञान थिएन । तर सुन्दा र पढ्दा निक्कै आनन्द लाग्थ्यो । गजलको काफिया के हो? रदीफ के हो ? शेर के हो ?मिसरा के के हो ? लय यति बारे केही थाहा थिएन । अनाम मण्डलीका राधा
कँडेल, घनेन्द्रओझा, सुरेश सुवेदी र विभोर बराल जस्ता युवा गजलकारहरुको गजल खुब पढ्थेँ । त्यसपछि गजल सम्बन्धि पुस्तकहरु किनेर पढ्न थालेँ । फेसबुकमा पनि त्यस सम्बन्धि लेखहरु पढ्न पाएँ । आज यस्तो लाग्छ कि म कम्तिमा पनि गजलको आधारभुतनियम र सिद्दान्तहरुसँग परिचित छु ।

८. तपाई छन्द बहरमा पनि गजल लेख्नुहुन्छ ? जुन नयाँ सिकारुहरु लेख्न खोज्दै हुनुहुन्छ, तर सक्नु भएको छैन । त्यसैले यसको बारेमा बताई दिनुहोस् न ।
> गजलमा भाव पक्ष शक्तिशाली भएर आयो भने बहर ओझेलमा पर्छ । तर शास्त्रिय बहरमा लेखिएका गजलहरु वाचन र गायनमा अझ बेग्लै मज्जा हुन्छ । छन्द बहरमा गजल लेख्ने प्रयास गरेको त छैन तर लेख्ने चाहना छ । छन्दबारे सिक्दैछु । तर गजल लेख्नको लागि छन्द बहरमै घोरिरहनु पर्छ भन्ने चै हैन । नेपाली मौलिक लयहरु पनि प्रसस्त छन् ।

९. गजल लेखेर गजलमा धेरै साधना गरेर अब छिट्टै आफ्नो पहिलो गजल सङ्ग्रह प्रकाशन गर्दै हुनुहुन्छ । तपाईको त्यो सँग्रहका बारे संक्षिप्त कुरा बताई दिनुहोस् न ।
> अहिले नै गजल सङ्ग्रह  प्रकाशन गर्नुपर्ने त्यस्तो हतार त थिएन। तर पनि मेरा आफन्त, साथी भाई र शुभ चिन्तकहरुले अव त पुस्तक छपाउनु पर्यो भनेर घचघच्याई रहनुभएको छ । र नढाँटी भन्नुपर्दा अलिकति आफ्नै मनको रहर पनि हो ।

वास्तबमा ८० प्रतिशत भन्दा बढी साहित्यप्रेमी/गजलप्रेमी पाठकहरु ईन्टरनेटको पहुँच भन्दा बाहिर छन् । उहाँहरुसम्म म आफ्नो गजल पुस्तक पुगोस्  भन्न चाहान्छु । त्यसैले गजल सङ्ग्रह  'सम्बोधन' प्रकाशनको मेलोमेसोमा जुटीरहेको छु । यस 'सम्बोधन' सङ्ग्रह भित्र मैले हालसम्म फेसबुकमा पोष्ट न/गरेका र अन्य साहित्यिक पत्रिकाहरुमा प्रकाशित गजलहरु समाबेश हुनेछन् ।

१०. आफ्नो एकल गजल पुस्तक प्रकाशन सँगै अब संयुक्त गीति एल्बम पनि साँगीतिक कोशेली स्वरुप बजारमा  लिएर स्रोता माझ आउदै हुनुहुन्छ, के कस्तो तयारी रहेको छ र कुन-कुन  गायक गायिका र संगीतकारले काम गर्नु भएको छ ?
> हो, हामी केही उत्साही संगीतप्रेमी युवा साथीहरुको सक्रियता र सहकार्यमा 'केही काँडा केही फूल' सँयुक्त गीति एल्बम बजारमा ल्याउने तयारीमा पनि लागेका छौं । यस गीति सँग्रहमा सँगीतकार राजेश थापा ज्युको एकल सँगीत हुनेछ भने गजलकार नबराज बुढा नवीन उदासी, तिब्वत दर्लामी र एस आर श्रमजीबिको शब्दहरुलाई गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, शिब परियार तथा गायिकाहरु अञ्जु पन्त र निशा देशारले आफ्नो स्वरमा सजाउनेछन् ।

यही प्रसँगमा यो कुरा पनि जोड्न चाहान्छु कि हाल नेपालको सँगीत बजार एकदम महँगो छ । यस्तोमा कुनै एक गायक वा गायिकाले लाखौं खर्चेर एल्बम बजारमा ल्याउन नसकिरहेको अवस्था छ । यहाँ देश विदेशमा रहेका नयाँ पुराना रचनाकारहरु नै अगाडी बढेर आफै लगानी गरेर नेपालको साँगीतिक क्षत्रलाई ठुलो योगदान दिईरहेको छ । यस्तैमा एक लेखक तथा चलचित्रकर्मी प्रकाश सायमी दाईको भनाई सम्झन्छु– 'अचेल एल्बम निकाल्नु भनेको आफ्नै घर जलाएर खरानी बेच्नु जस्तै हो ।'

रचनाकारहरु आफै लगानी गर्छन् तर बदलामा नाफा आम्दानीको ठुलो आशा राख्दैनन् । संयुक्त एल्बम निकाल्न आर्थिक भार अलि कम हुने हुनाले पनि हामीले यो सँयुक्तरुपमा कलेक्सन एल्बम बजारमा ल्याउने सोचाई बनाएका हौँ ।


११. नेपाल मगर बिद्यार्थी संघ काभ्रेको अध्यक्ष भएर आफ्नो कार्यकाल चलाउदाको अनुभव कस्तो रह्यो र समाजका के कस्तो कार्य गर्नु भयो ?
> सँयोगले म नेपाल मगर बिद्यार्थी संघमा आवद्द हुन पुगेँ । त्यसको केही अन्तरालमै मलाई साथीहरुले नेपाल मगर बिद्यार्थी संघ काभ्रे जिल्ला समितीको अध्यक्षको
जिम्मेवारी सुम्पिदिए । २०६२/६३ को जनआन्दोलनमा हामी पनि मगर संघ र जनजाती महासंघको झण्डामुनी रहेर आन्दोलनको मोर्चामा होमिएका थियौं । अध्यक्षको कार्यकालमा मैले कुनै उल्लेखनिय कार्य गर्न सकिन होला तर पनि मगर समुदायलाई
घचघच्याउन, ब्युझाउन सँगठनको स्तरबाट जिल्लामा थुप्रै कार्यक्रमहरु गर्यौँ । ब्यक्तिगत रुपमा भन्नु पर्दा म काभ्रेको मगरले देश विदेशकै अरु मगरहरुको साँस्कृतिक पहिचानबारे नजिकबारे बुझ्ने मौका पाएँ । हाल मगर संघ सँस्थाको सबै
साँगठनिक सँरचनाबाट टोटल्ली डिस्कनेक्ट भएकोछु । तैपनि मगर समुदायको सामाजिक–साँस्कृतिक बिम्ब र मिथकहरुलाई साहित्यको मुलधारमा ल्याउने प्रयास गर्नेछु ।

१२. आज भोली धेरै कृतिहरु प्रकाशनमा आईरहेका छन् तर प्रकाशन गरेर बजारमा बिक्री बितरण हुन गाह्रो छ । त्यसैले पुस्तक छापेर नाफा घाटामा जोड्नु यहाँलाई कस्तो लाग्छ ?
> थुप्रै साहित्यिक कृतीहरु प्रकाशन हुनु सुखद कुरा हो । नयाँ लेखकहरुको लागि प्रकाशकहरु पाउन मुश्किल छ । नयाँ लेखकहरु आफ्नै लगानी खर्चेर पुस्तक छपाईरहेका छन् । तर पुस्तक छपाएर घरमै वा प्रेसमै थुपारेर राखेको देखेकोछु मैले । यो चै
राम्रो हैन । पुस्तकहरुको उचित बजार ब्यबस्थापन हुन नसकिरहेको अवस्था छ । पुस्तक छपाएर त्यसको पब्लिसिटी हुन नसक्दा प्रकाशित पुस्तकहरु पाठकहरुको हात हातमा पुग्न सकेको छैन ।

नाफा र घाटाको कुरा भन्दा पनि आफ्नो दिल, दिमाग र समय खर्चेर प्रकाशित पुस्तक बेचेर केही आम्दानी हुन सकोस भन्ने ईच्छा चाहना राख्नु लेखकको  अधर्म होईन जस्तो लाग्छ ।

१३. तपाई साहित्यको कुन–कुन बिधामा लेख्नुहुन्छ ?
> मलाई साहित्यको सबै बिधा उत्तिकै मन पर्छ । गजल धेरै पढेको छु । हाल गजल लेखनमै ध्यान केन्द्रित छ ।

१४. घरदेशको साहित्य र परदेशको साहित्यमा के फरक पाउनुहुन्छ ?
> साहित्य घरदेशको वा परदेशको हुन्छ भन्ने लाग्दैन । गाउघरको झुपडीमा बसेर लेखे पनि परदेशको सामुद्रिक किनारमा बसेर लेखे पनि साहित्य आखिर साहित्य नै ह। तर पनि डायस्पोराबाट आएका साहित्य सिर्जनाहरुमा देश दुःखेको पाउछु । घर, परिवार र आफन्तहरुसँगको बिछोड दुःखेको पाउँछु  । गाउँ, बेशी र समाजको मीठो सम्झनाहरु पाउछु ।

१५. स्व. बिष्णु पुलामीको मुक्तक सँग्रह 'अन्तिम हस्ताक्षर' विशेषतः तपाइको सक्रियता र अन्य साथीहरुको सहयोगमा प्रकाशन भयो। स्व. बिष्णुको बारे र अन्तिम हस्ताक्षर को बारेमा पाठकहरुलाई के जानकारी दिनुहुन्छ ?
> बिष्णु पुलामी पनि हामी जस्तै एक युवा सर्जक हुनुहुन्थयो । उहाँ साउदीमा रहदा फेसबुककै आँगनमा परिचय साटिएको हो हाम्रो । बिडम्बना! उहाँ घर फर्केर गाउघरमै बसाईको क्रममा बित्नु भएछ । यस घटनाले म जस्तै उहाँका अरु साथीहरु र सिर्जनशिल मनहरुलाई दुखित तुल्यायो । यस्तैमा मनु लोहोरुँग दिदीले बिष्णु पुलामीको रचनाहरुको पुस्तक निकाल्ने प्रस्ताब गर्नुभयो । यसै क्रममा थुप्रै साहित्यप्रेमीहरुको आर्थिक सहयोगमा 'अन्तिम हस्ताक्षर' मुक्तक सँग्रह प्रकाशन सम्भब भएको हो ।

१६. गायक दीपक लिम्बू र सँगीतकार राजेश थापाको सँगीतमा 'हेराई नै मात लाग्ने' नामक गीत रेकर्ड गर्नु भयो, साँच्ची मात नै लागेर लेख्नु भएको हो ? अथवा कस्तो परिबेशमा रहेर लेख्नु भयो ?
> हाहाहा....त्यस्तो मातै लागेको त हैन तर मनलाई तरँगित बनाएको चै पक्कै हो । एक दिन फेसबुकमै दाजु खगेन्द्र पान्धाक लिम्बु ज्युको वालमा एउटी सुन्दर युवतीको आकर्षक पेन्टीङ तस्वीर देखेँ । नजर त्यही तस्वीरमा टाँसीरह्यो । ठुला–ठुला गाजलु र चम्किलो आँखाहरु, सुलुक्क परेको नाक, खस आर्यन सुन्दर मोहडा, कालो लामो सिल्की कपाल थियो । त्यो तस्वीर हेर्दा हेर्दै मनले छुट्टै काल्पनिक दुनियाँको फन्को मार्यो । र त्यही तस्वीरमा प्रतिकृया लेख्ने क्रममा यो गीत जन्मियो । र सँयोग कस्तो भने यही गीतलाई सँगीतकार राजेश थापा ज्युले पनि मनपराईरहनुभएको रहेछ । मेलोडी बनाएर एक दिन उहाँले मलाई सुनाउनु भयो । मेलोडी
मीठो लाग्यो । त्यसपछि गायक दीपक लिम्बूको आवाजमा हामीले यस गीतलाई रेकर्ड गरेका हौं । धेरै युवा मनहरुले यो गीतलाई मन पराईदिनु भएको छ । खुशी छु । अव छिट्टै म्युजिक भिडियो पनि बनाउने सोचाईमा छौं ।

१७. अहिले गजलहरु लेखनमा मात्र होइन, सँगीतमा पनि उत्तिकै मिडियामा आई  रहेको छन् तर तपाइले यी गजलको माहोललाई कसरी हेर्नु भएको छ ?
> गजल गेय बिधा हो यो गाइनु पर्छ भन्ने मान्यतामा जिद्दी गर्ने मान्छे हुँ म पनि । त्यसैले पनि गजलहरु सँगीतबद्द भएर बजारमा आउनु, मिडियाहरुमा छाउनु खुशीको कुरा हो । तर सँगीतकार र गायक गायिकाहरुले गजलको मर्मलाई न्याय गर्न अझै ध्यान दिनु पर्ने हो कि भन्ने आभास हुन्छ मलाई ।

१८. तपाई गजल लेख्दा कुनै विषय नै बनाएर लेख्नु हुन्छ या के लाई बिषय मानेर लेख्नु हुन्छ ?
> मैले अरु स्रष्टाहरुको गजल पढ्ने क्रममा प्रत्येक शेरले बेग्ला बेग्लै अर्थ
र विषयलाई छोएर लेखिएको गजलहरु पनि पढेको छु । त्यसरी पनि गजल कोरिन्छ र कोरिने प्रचलन रहेछ । तर म चै गजल लेख्दा कुनै कथा वा विषबस्तुमा केन्द्रित हुन रुचाउछु ।

१९. बरिष्ठ व्यक्तिहरुले जबसम्म तपाई परिपक्व गजलकार बन्नुहुन्न तबसम्म कृती सार्बजनिक नगर्नुहोस भनेका हामीले सुनेका छौं । तर तपाइलाई कस्तो लाग्छ यो भनाई ?
> उहाँहरुको आशय गलत छैन भने ठिकै भन्नु भएको होला । तर परिपक्वताको मापन के हो मलाई थाहा छैन । कतिवटा गजल लेखेपछि परिपक्व भईन्छ म जान्दिन । जो कोही लेखकलाई आफुलेको सिर्जेका रचनाहरु प्यारो हुन्छ चाहे त्यो जति नै कुरुप किन
नहोस । म आफु पनि लेखनमा परिपक्व नभैसकेको हुँला तर पनि म आफ्नो रचनाहरुलाई सँग्रहित गरेर प्रकाशन गर्दैछु । प्रकाशन गर्दै जाने हो सिक्दै बुझ्दै अगाडी बढ्ने हो । एकै पटक कोही परीपक्व हुदैन केरे ।

२०. अन्त्यमा..
> म जस्तो सामान्य साहित्य अनुरागीलाई पनि आफ्नो कुरा राख्ने मौका दिनु भयो । कुराकानीको क्रममा मैले गलत बोलेछु भने माफी पनि भन्छु । मेरा शुभ चिन्तकहरु मलाई सही मार्गनिर्देश गर्दै गर्नुहोला । र ग्लोबल नेपाल न्युज यु. के. र यसका सम्बाददाता नबराज जीलाई धेरै–धेरै धन्यवाद |
तिब्वत दर्लामी
Powered by Blogger.

Blog Archive

Stay Connected

Top Menu

Travel

Viral

Popular Posts

Fashion

Hot News

Contact Form

Name

Email *

Message *

top_rightads

Sidebar Ads