• गजलमा मात्रागिरावट– डा. घनश्याम परिश्रमी

    – डा. घनश्याम परिश्रमी
    यो आलेख मूलत: गजलमा मात्रागिरावट विषयमा केन्द्रित भएर तयार गर्न खोजिएको हो । मात्रा गिरावटको सम्वन्ध बहरसँग हुन्छ, बहरमा पनि प्रमुखतः शास्त्रीय बहरसँग । शास्त्रीय बहरमा गज...ल रचना गर्नु अभ्यस्त नभइसकेका स्रष्टाहरुका लागि अवश्य नै जटिल कार्य हो । यसका लागि प्रथमत: रुक्नहरुको ज्ञान हुनु आवश्यक छ । रुक्न भनेको बहरको गण हो । संस्कृत काव्यशास्त्रमा पिङ्गल छन्दका मुख्य आठवटा भ(SII), ज (ISI), स (IIS, य (ISS, र (SIS), त (SSI, म(SSS), न(III) जस्ता गणहरु र कोष्ठकमा दिइएका तिनका गुरु–लघु सङ्केतक सूत्रहरु भएजस्तै इस्लामिक छन्दशास्त्रमा पनि आठवटा नै प्रमुख रुक्नहरू छन्, जुन निम्नानुसार छन् :

    १) मफाईलुन्(ISSS) ,

    २) मुस्तफ्इलुन्(SSIS),

    ३) फायलातुन् (SISS),

    ४) फऊलुन्(ISS) 

    ५) फाइलुन्(SIS),    

    ६) मुतफाइलुन्(IISIS)

    ७) मफाइलतुन्(ISIIS)  ,  

    ८) मफ्ऊलातु(SSSI)

    कोष्ठकमा दिइएका सूत्र लघु गुरुका सङ्केत हुन् । (I) ले लघु वा ह्रस्व मात्रालाई र (S) ले गुरु अर्थात् दीर्घ मात्रालाई सङ्केत गर्दछन् । उपर्युल्लिखित रुक्नहरुको आवृत्ति तथा पूर्ण वा खण्डित रुपहरूको मेलबाट शास्त्रीय बहरहरूको निर्माण हुन्छ ।

    शास्त्रीय बहरमा गजल लेख्नेहरूले लघु र गुरुबारे सम्यक् जानकारी लिनु अनिवार्य हुन्छ । लघु अर्थात् ह्रस्वले अकार, ह्रस्वइकार, ह्रस्वउकार ऋकारयुक्त अक्षरहरूलाई बुझाउँछ ।

    जस्तै – कलह(III), कुकुर(III), कृषक(III) , शिशिर(III), । यी सबै शब्द लघु मात्राले बनेका छन् । गुरु अर्थात् दीर्घले आकार, दीर्घ ईकार, दीर्घ उकार, एकार, ओकार, औकार, अंकार, र अःकार (विसर्ग ) युक्त अक्षरहरूलाई बुझाउँछ । जस्तै – आमा (SS), पीडा (SS), पूजा (SS), नेपाली (SSS), ऐना (SS), आगो(SS), कौवा(SS), संज्ञा(SS),  दुःखी (SS) यी सबै शब्द दीर्घ मात्राले बनेका छन् । यसरी नै अगाडिको लघु अक्षरले पछाडिपट्टिको संयुक्त ब्यञ्जनको एउटा वर्णलाई तान्नु वा टिप्नु परेमा यस्ता लघु अक्षर गुरु (दीर्घ ) बन्दछन् ।

     जस्तै

    अर्का  (SS) ‘अ’ ले ‘र्’ लाई तानेको छ ।

    बिर्खे (SS) ‘बि’ ले ‘र्’ लाई तानेको छ ।

    पण्डा (SS)‘प’ ले ‘ण्’ लाई तानेको छ ।

    अन्धो (SS) ‘अ’ ले ‘न्’ लाई तानेको छ ।

    कुप्रो(SS) ‘कु’ ले ‘प्’ लाई तानेको छ ।

    सृष्टि(SS)‘सृ’ ले ‘ष्’ लाई तानेको छ ।

    यद्यपि माथिका सबै शब्दका पहिला अक्षरहरू व्याकरणिक दृष्टिले ह्रस्व हुन् तर पछाडिपट्टिका संयुक्ताक्षरका वर्णलाई तान्नु वा टिप्नुपरेकाले यी दीर्घ बन्न पुगेका छन् । यदि पछाडिपट्टिका संयुक्ताक्षरका वर्णलाई तान्नु नपरेमा अगाडिको लघु अक्षर लघु नै रहन्छ ।

    भन्यो (IS)

    उज्यालो (ISS)

    किन्यो (IS)

    दुख्यो (IS)

    शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) वर्णभन्दा पूर्वको अक्षर पनि लघु भए पनि गुरु मानिन्छ । हलन्त वर्णको गणना हुँदैन ।

    जस्तै :

    मित्रवत् (SIS )  व – गुरु

    भन्छन् (SS)  छ – गुरु  बस्छन् (SS)  छ – गुरु

    जान्नन् (SS )  न – गुरु

    मिसरा  ( पङ्क्ति वा पाउ ) को अन्तमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ । (यो नियम उर्दू र हिन्दीका गजलमा भने लागु हुँदैन । )

    यी नियमहरु संस्कृतका शास्त्रीय छन्द तथा गजलका बहर दुवैका लागि समान रूपले वितरण भएका देखिन्छन् । संस्कृतका शास्त्रीय छन्दमा यिनको प्रयोग अत्यन्त कठोरतापूर्वक गरिएको हुन्छ भने गजलमा उदारतापूर्वक गरिएको पाइन्छ । अर्थात् संस्कृतको पिङ्गल छन्दको जस्तो “अपि मासम् मसम् कुर्यात् छन्दोभङ्गम् नकारयेत्” भन्ने कठोर नीतिलाइृ गजलले अक्षरशः अङ्गीकार गर्दैन । वस्तुत : बहरमा उदारता र लचकता बढी देखिन्छ । यही उदारताले नै गजलका शास्त्रीय बहरमा “मात्रागिरावट” नियम लागु भएको हो । यो नियम गजल रचनाका सन्दर्भमा एउटा सिद्धान्त नै बन्न पुगेको छ ।

    मत्रागिरावट भनेको गजलको बहरका मात्रामा देखिने विचलन हो । यसर्थ मात्रा गिरावटलाई हामीले मात्राविचलन पनि भन्न सक्दछौँ । खासगरी बहर मिलाउँदा गायनमा कत्ति असर नपर्ने गरी दीर्घ मात्रालाई ह्रस्वका रुपमा र कतिपय अवस्थामा ह्रस्व मात्रालाई दीर्घका रुपका स्थानापन्न गर्नुलाई मात्रागिरावट भनिन्छ । यसले उच्चार्य अक्षरको प्रयुक्तिका आधारमा शब्दको विन्यासलाई पनि महत्व दिन्छ । जस्तै :

    लेख्य आधारमा उच्चार्य आधारमा

    जीवन (SII) (IS/SS)

    शीतल (SII) (IS/SS)

    मुलुक (III)    (IS)

    फार्सी, उर्दू र हिन्दीमा आकार, एकार, ऐकार, ओकारयुक्त अक्षरहरुलाई “मत्रागिरावट” नियमका आधारमा विकल्पमा लघु मात्राका रुपमा समेत प्रयोग गरिएका प्रशस्त उदाहरण पाइन्छन्, यद्यपि यी मात्राहरू गुरु हुन् । यसका केही उदाहरणहरू अवलोकन गरौं :

    १। सूत्र SIS + SIS + ISSS

    होश आए तो किस कदर आए

    दस्त ही दस्त बस नजर आए

    – डा. कमर खाँ “बहम”

    यहाँ “तो” लघु भएको छ ।

    २। सूत्र : SISS + SISS + SISS + SIS

    जिन्दगी के शोरो शर मे गम का मारा कौन है

    जातकी तन्हाइयोँ मे बेसहारा कौन है

    – सलीम रासिख

    यहाँ “ऐ” र “का” लघु भएको छ ।

    ३। सूत्र : SSIS + ISS + ISS + IS

    खौप पत्थर से खाने लगे आइने

    अव हकीकत छिपाने लगे आइने

    – प्रवीण “नाकाम”

    यहाँ “से” लघु भएको छ ।

    ४।सूत्र : SISS + ISS + SIS

    हमको जो भी उजाले मिले

    तम के घर पलने वाले मिले

    – राजेन्द्र वर्मा

    यहाँ पहिलो मिसराको “को” र दोस्रो मिसराको “क” र “न” दुबै ह्रस्व मात्राका रुपमा छन् ।

    ५। सूत्र : SISS + ISS + SISS + ISS

    हरदम दुहाएँ देना हर लम्हा आहेँ भरना

    इनका भी काम करना आपना भी काम करना – जिगर मुरादावादी

    यहाँ एँ, हा, हेँ, भी जस्ता अक्षरहरू लघु मात्राका रूपमा प्रयोग भएका छन् ।

    ६।सूत्र : ISS + ISS + ISS + ISS

    भँवर मे अजल से है दिल खोए खोए
    मुहब्बत उभारे मुहब्बत डुबोए

    – फिराक “गोरखपुरी”

    यहाँ है र ए लघु मात्राका रूपमा प्रयोग भएका छन् ।

    माथि प्रयुक्त शेरहरूका अधिकांश शब्दहरू उच्चारणका आधारमा बहरमा प्रयोग भएको पाइन्छ । यस्ता शब्दहरुमा सूत्र १ का किस (S), कदर (IS), बस (S ), नजर (IS), सूत्र २ का शर (S), गम (S ), सूत्र ३ का पत्थर (SSI), अब (S ) हकीकत (ISS), सूत्र ४ का हम (स्), तम (S), घर (S ), पल (S), सूत्र ५ का हरदम (SS) हर (S), भरना (SS), इनका

    (SS), करना (SS), अपना (SS ), सूत्र ६ का भँमर ( IS ),अजल (IS ),  दिल (S), मुहब्बत (ISS) रहेका छन् । मात्रा गिरावट नियमले नै बहरमा यस्तो छुट दिएको हुन्छ ।
    नेपालीमा पनि ईकार, ऊकार, एकार र ओकारलाई गुरुका अतिरिक्त आवश्यक पर्दा लघु मात्राका रुपमा समेत सजिलै प्रयोग गर्न सकिन्छ । आकारलाई पनि शब्दको बीच वा अन्तमा मात्र लघु मात्रामा रूपमा प्रयोग गर्न सकिन्छ । ऐकारलाई भने फार्सी, उर्दू र हिन्दीमा झैँ लघु मात्राका रूपमा नेपालीमा प्रयोग गर्न सकिँदैन । यसैगरी लघु मात्रा अकार, इकार र उकारलाई बहर मिलाउँदा विशेषतः यति हुने स्थानमा र आवश्यक परे विकल्पमा अन्य स्थानमा समेत गुरुका रूपमा प्रयोग गर्न सकिन्छ । जस्तै –

    सूत्र SSIS + ISS+ SSIS + ISS

    रोएर दिन विताएँ तारा गनेर राती
    निठुरी रहेछ तिम्रो पत्थरसमान छाती

    – उपेन्द्रबहादुर जिगर

    निठुरी शब्दको निठु दुई लघु (S) मात्राले एक गुरु (I) को काम गरेका छन् भने दिन पनि एक गुरु (क्), मात्राको रुपमा प्रयोग भएको छ र पत्थर दुई गुरु (क्क्), मात्राको रुपमा प्रयोग भएको छ : यस सूत्रकै अर्को उदाहरण पनि हेरौँ –

    हीरा जुहारभन्दा माटो मलाई प्यारो
    रङ्गीन दुनियाँमा रातो मलाई प्यारो

    – बूँद राना

    यस सेरको मिसरा ए उला र मिसरा ए

    सानी दुवैमा रदीफका रूपमा प्रयुक्त 'मलाई'को 'ई' गुरु – (दीर्घ) भए तापनि बहरको सूत्र अनुसार यहाँ लघु मात्राको रूपमा छ भने 'दुनियाँ'को 'दु' लघु भए तापनि क् गुरु मात्राको रूपमा छ ।

    अरू शेरहरु पनि हेरौँ –
    सूत्र –ISS+ ISS+ ISS+ ISS

    बढेको नदीमा पसेझैँ  भएँ म
    कुनै भुमरीमा फसे झैँ भएँ म
    – डा. घनश्याम परिश्रमी

    यहाँ रदीफ “म” (दुवै मिसराको ) लघु हो तापनि बहरको सूत्रअनुसार गुरुका रूपमा प्रयोग भएको छ भने भुमरीको “भु” पनि गुरुका रूपमा नै प्रयोग भएको छ । यद्यपि “भु” लघु हो ।

    सूत्र SIS+ SIS+ ISSS

    वेदना छातीमा थुनेजस्तो
    मनमनै क्यै कुरा गुने जस्तो

    – सनतकुमार वस्ती

    यस शेरमा प्रयुक्त छातीको “ती” नियमानुसार दीर्घ भए तापनि बहरमा यसको उच्चारण “ति” लघु हुन्छ । यसरी नै मन दुई लघु मात्रा हुन् तापनि यी दुईले एक गुरु (S) मात्राको काम गरेका छन् ।

    सूत्र –ISS+ ISS+ ISS+ ISS

    मेरो दिलको धडकन तिमी हौ
    म बाँचेको जीवन तिमी हौ

    – डा. घनश्याम परिश्रमी

    यहाँ मेरो को “म" दिलकोको “को” बाँचेकोको “को” लघु मात्राका रुपमा प्रयोग भएका छन् भने दिल (S) धडकन (SS ) जीवनको “वन” ले गुरु (क् ) मात्राको काम गरेका छन् ।

    सूत्र –IISIS+ IISIS+ IISIS+ IISIS

    कति दिन बिते यही यादमा कति दिन अरू छ बिताउनू

    कित त आउनू तिमी नै स्वयं कि त याद यो नपठाउनू – दा. कृष्णहरि बराल

    यस शेरमा यही को “ही” र तिमीको “मी” गुरु हुन् तापनि लघु मात्राका रूपमा प्रयोग भएका छन् । यसरी नै दिन (S) दुई लघु मात्राले एउटा गुरु (I) मात्रालाई बुझाएका छन् ।

    मात्रागिरावट नियमले आवश्यकताअनुसार हलन्तलाई अजन्त र अजन्तलाई हलन्तका रुपमा सौन्दर्य र उच्चारणमा असर नपर्ने गरी प्रयोग गर्न पनि छुट दिन्छ । त्यसैले त यसलाई अग्रेजीमा “कन्सेक्सन” भनिन्छ ।

    सूत्रका आधारमा मात्रागिरावटको नियम लागु गरेर गजल लेख्ता वा छाप्ता व्याकरणको नियमलाई उल्लङ्घन गरेर वा तोडेर ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व तथा अजन्तलाई हलन्त र हलन्तलाई अजन्त बनाउनु भने पर्दैन । सूत्र बुझेपछि उच्चारण गर्दा वा गाउँदा ध्यान दिए पुग्छ । जस्तै
    सूत्र ISS+ ISS+ ISS+ ISS

    जीवनको कहानी सुनायौ तिमीले
    बगाएर आँसु के पायौ तिमीले  

    –डा. घनश्याम  ‘परिश्रमी’

    यस शेरको पहिलो मिसराको “जीवन” को मात्रा ब्याकरण अनुसार हुनुपर्छ तर यहाँ उच्चारण गर्दा बहरको सूत्रअनुसार “जिवन” को मात्रा व्याकरण (IS) भएको छ भने दोस्रो मिसराको आँसुको “सु” गुरु (S) र “के” लघु (।) मात्राका रूपमा प्रयोग भएका छन् । तर यसरी मात्रामा विचलन देखिए तापनि यी शब्दहरूको उच्चारणमा कुनै प्रकारको बाधा र जटिलता आएको छैन । त्यसैले उक्त शेरको लयमा पनि गायनका सन्दर्भमा कुनै व्यवधान वा अवरोध देखा पर्दैन ।

    गजल मूलत: सङ्गीतसँग सन्निकट भएकाले यसले ब्याकरणको यान्त्रिकतालाई वरण गर्न असजिलो मान्दछ । छन्देही कविताको शैलीमा लेखिएका गजलहरु स्वाभाविक सौन्दर्यबाट प्राय: बञ्चित हुन पुगेको देखिन्छन् । यस्ता गजलमा कृत्रिमता अधिक दृष्टिगोचर हुन्छ । त्यसैले सङ्गीतात्मकता र गेयतामा असर नपर्ने गरी कोमल र  उच्चार्य वा कथ्य भाषालाई गजलले सर्वाधिक महत्व दिन्छ । यही उदारता र लचकताले गजललाई विकृत र कुरूप होइन अपितु सुन्दर, शालीन र स्वाभाविक बनाउन सहयोगीको भूमिका खेलेको हुन्छ । यसकारण गजलमा मात्रागिरावटको उपयोग औचित्यपूर्ण छ ।

    ( साभार: सुरेश वाग्लेको स्टाटस बाट )
     नेपली गजलको बारेमा अझै केही कुराहरु जान्नको लागी
       यहाँ क्लिक गर्नुहोस          
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831