• गजल बारेमा

    यो लेख (वा लेखको भाग)लाई विकिपीडियाको गुणस्तरमा राख्नको लागि विकीकरण गर्न आवश्यक छ ।
    लेख राम्रो पार्न, कृपया मद्दत गर्नुहोला विषेश गरी यसको सेक्शन लेआउट, सान्दर्भिकता, भित्री लिंक आदिमा ध्यान दिन आवश्यक छ । (सहयोग) यो लेख जुन २०११मिति देखि ट्याग्ड छ। उर्दु भाषामा अत्यन्त विकसित साहित्यको श्रव्य बिधा गजलको जननी चाहि अरबी भाषा नै हो । उर्दु भाषामा अत्यन्त विकसित, लोकप्रिय र चर्चित भए पनि बिस्तारै-बिस्तारै यसको प्रभाव हिन्दी र नेपालीजस्ता भाषा साहित्यमा पनि भएको देखिन्छ । संरचनात्मक दृष्टिकोणबाट गजललाई नियाल्दा मुक्तक र लघुकथासंग धेरै नजिक देखिने भए पनि यसमा भावको त्रि्र विन्यास गरिएको हुन्छ । यो संगीत चेतनाका आधारमा गीत एवं बिम्ब-प्रतिक तथा उपमा, रुपक जस्ता अलंकारको प्रयोग र सौर्न्दर्य चेतनाको दृष्टिले पनि कविताको आस्वादन दिने साहित्यको एउटा संरचना हो । गजलले लगभग आठ-नौ सय वर्षो इतिहास बोकेको देखिन्छ । सुरुदेखि बर्तमानसम्म विद्यमान रहेका गजलभित्रका आफ्नै निजी तत्वहरुले यसलाई अरु बिधाबाट स्वतन्त्र अस्तित्व प्रदान गरेको छ । बर्तमान समयमा गजलले बृहत क्षेत्र ओगट्दै गएको देखिन्छ । हुनत गजलको मुल विषयबाद नै प्रेम भएको हुनाले र प्रमिका संगको बार्तालाब अथवा श्रृङ्गारिक अनुभुतिको भाषिक अभिव्यक्ति गजल हो भन्य मान्यता उत्पत्ति कालदेखि नै देखिदै आएको छ । त्यसैले यसले आजसम्म पनि श्रृङ्गारिक धरातललाई लिएरै हिडेको पनि देखिन्छ । तर, पूर्णरुपमा प्राचिन संरचनामा मात्रै गजल सिमित बनेको चाहि छैन । बर्तमानका गजलहरुमा प्रेमपूर्ण बिषय बस्तुले भन्दा ह्रासोन्मुख मानवीय मुल्य, सामाजिक असमानता, राजनैतिक विकृति, अत्याचार, कुरीति, शोषण, दमन, जीवनका निराशा, माटो अनि मुटुका सम्बन्ध तथा यथार्थ धरातलमा रहेर गजलहरुको सिर्जना हुन थालेको पाइन्छ ।
    'गजल' अरबी भाषाको 'पोथी' वा स्त्रीलिङ्गी शब्द हो । अरबी भाषामा 'ग' भन्नाले 'वाणी', 'ज' भन्नाले 'स्त्री', 'अल' भन्नाले 'को' वा 'साथ' भन्ने हुन्छ । त्यसैले 'गजल' शब्दले दिने शाब्दिक अर्थ 'स्त्रीका साथ प्रयुक्त हुने वाणी' अर्थात् स्वास्नी मान्छेसँग गरिने वार्तालाप भन्ने बुझ्न सकिन्छ । गजलका सन्दर्भमा बिभिन्न विद्वानहरुले फरक फरक मत अघि सारेका छन् । कसैले यसको अर्थ प्रेयसीसंगको क्रीडा अनि कसैले नारीहरुको प्रेमको कुरा भनेर पनि अर्थ्याएका छन् । 'गिजाल'बाट गजल शब्द विउत्पन्न भएको हो भन्ने डा. कृष्णचन्द्र मिश्र जस्ता विद्वान पनि भेटिएका छन् । अरवी भाषामा पाइने 'गिजाल' शब्द 'गजाल'बाट बन्दछ । मिश्रले गजल शब्दको शाब्दिक अर्थ मृगशावक वा हरिणशिशु हुन्छ, अर्थात् 'शिकार खेल्दा जब शिकारीको वाँण हरिणको मुटुमा गई रोपिन्छ, त्यसबेला हृदयविदारक ढंगले हरिणले गर्ने आर्तनादलाई गजल भनिन्छ ।' त्यसैले गजलको उत्पत्तिगत दृष्टिले गजलकारको कोमल हृदयमा कुनै गहिरो आघात पर्दा त्यसबाट प्रस्तुत हुने कारुणिक तथा पीडाजन्य आन्तरिक अनुभुतिजन्य र प्रेमिकासँगको पिडासहित व्यक्त गर्ने शब्दजाल नै गजल हो ।
    फारसी भाषामा गजलको अर्थ 'वाजनान गुफ्तगु करद न' वा 'आइमाईका कुरा' हुन्छ । आइमाईका कुरा एक बिषयमा केन्द्रित नहुने भएकाले र गजलका पनि हरेक 'शेर'हरु कुनै निश्चित विषयमा आबद्ध नभई आफैमा स्वतन्त्र देखिन्छन् । तर्सथ अर्थका दृष्टिले गजल एकतामा अनेकता र संरचनात्मक दृष्टिले अनेकतामा एकता हुने सुललित भाषिक अभिव्यञ्जना हो ।
    [सम्पादन गर्ने]गजलको परिभाषा

    प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कवितालाई गजल भनिन्छ । [१]
    ५ देखि ११ शेरहरु हुने उर्दु र फारसी कविताको एक प्रकार गजल हो । यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ । गजलको संग्रहलाई दीवान भनिन्छ । [२]
    प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चीमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ । [३]
    [सम्पादन गर्ने]नेपाली गजलको इतिहास[४]

    वि.सं. १९४१–२००२
    विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए ।
    वि.सं.२००३–२०३५
    मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए । भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन् ।
    यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन ।
    वि.सं.२०३६–२०५०
    वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ ।
    ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ ।
    वि.सं. २०५० – हालसम्म
    गजलकारहरू मनु ब्राजाकी, डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन् ।
    यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०), मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४), बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४), वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२), राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२), श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०), कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१), कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८), मुन पौडेल – गजलोत्सव (२०५३), गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८), माधव वियोगी –गुम्सिएका भावहरू (२०५८), ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८), पुष्पलता कलमका डोवहरू, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) रहेका छन् ।
    [सम्पादन गर्ने]गजलको किसिम

    गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ । [५]
    विषयवस्तुको आधारमा
    रदीफको आधारमा
    विषयवस्तुको आधारमा:- विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन् ।
    मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ ।
    गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ ।
    रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन् ।
    मुरद्दफ गजल : जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ ।
    गैरमुरद्दफ गजल : जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ ।
    [सम्पादन गर्ने]गजलको संरचना[५], [६]

    मिसरा:- हरफलाई मिसरा भनिन्छ ।
    शेर:- गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ । शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ । उलाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ ।
    (उला + सानी = शेर)

    मिठो प्यार पाएँ [मिसरा-ए-उला]
    काखमा रमाएँ । [मिसरा-ए-सानी]
    - गोर्खे साइँलो

    मतला:- गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ ।
    यसका दुईटै मिसरामा काफिया र रदीफ हुन्छ ।
    या रदीफविहीन गजल हो भने दुईटै मिसरामा काफियाको मात्र प्रयोग भएको हुन्छ ।

    हुस्ने मतला वा मतला-ए-सानी:- यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ ।
    काफिया:- स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ । यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ ।
    पूर्ण काफिया:- पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि ।
    आंशिक वा शब्दांश काफिया:- शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रुपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ । जस्तैः कहानी सिरानी निशानी जवानी जिन्दगानी तानी आदि ।
    एक अक्षरे काफिया:- शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रुपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि ।
    रदीफ:- काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ । रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन । यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको हुन्छ ।
    एकल रदीफ:- एक शब्द प्रयोग भएको रदीफ
    बहुल रदीफ:- एकभन्दा बढी शब्द प्रयोग भएको रदीफ ।
    मक्ता:- गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ ।
    तखल्लुस:- मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन् । यस्तो उपनामलाई तखल्लुस भनिन्छ । तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन ।
    इ सानै उमेर्देखि मन हर्न लागे [मतलाको मिसरा-ए-उला]
    यिनै सुन्दरीले जुलुम् गर्न लागे । [मतलाको मिसरा-ए-सानी]

    कहाँ सम्म आँट लौ हेर तिन्को
    रिसाएर आँखा पनि तर्न लागे ।

    अघि पर्न सक्दीन मैले हरिका [मक्ताको मिसरा-ए-उला]
    नजर्देखि "मोती" पनि र्झन लागे । [मक्ताको मिसरा-ए-सानी] [तखल्लुस "मोती"]
    - मोतिराम भट्ट
    बहर:- कुनै नियममा बाँधिएका शेरहरूको वजनलाई बह्र वा बहर भनिन्छ ।
    [सम्पादन गर्ने]गजलका बहरहरु
    तर जुल:- अक्षरको एकरुपता पनि नमिलेको र शास्त्रीय बहर पनि नमिलेको तर भावका दृस्टीले चोटिला[७] ।
    नेपाली बहर:- केवल आक्षेरिक एकरुपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ । मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरु हुन्छन [७] [८] ।

    ६ अक्षरको मिसरा:-

    मिठो प्यार पाएँ [मि-ठो प्या-र पा-एँ = ६]
    काखमा रमाएँ । [का-ख-मा र-मा-एँ = ६] - गोर्खे साइँलो[८]

    ७ अक्षरका मिसरा:-
    प्यासमा पानी पायौ [प्या-स-मा पा-नी पा-यौ = ७]
    साथमा माया लायौ । [सा-थ-मा मा-या ला-यौ = ७] - गोर्खे साइँलो[८]

    १६ अक्षरका मिसरा:-
    समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी [स-मे-ना-मा बो-की ल्या-यौ भ-एँ प्या-रा घर-की रा-नी = १६]
    तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी । [ति-मी हुँ-दा ता-तो प्या-ला भ-एँ आ-फैँ पा-नी पा-नी = १६] - गोर्खे साइँलो[८]
    मात्रिक बहर:- अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा गणना गर्दा मात्रा बराबर हुन्छ[८] ।

    १७ मात्राका मिसरा:-
    सिरानी यो हातमा निदाऊ
    आउ मेरो साथमा निदाऊ । - गोर्खे साइँलो[८]
    त्यसै गरी २४ मात्राको यो मिसरा:-
    जागरुकताको दियो बालेर आए हुन्छ
    सँगै लाने अधिकार पालेर आए हुन्छ । - गोर्खे साइँलो[८]
    शास्त्रीय बहर:- बहरको नाम लिनु पर्दा सर्वप्रथम त उर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो[८], संस्कृत छन्द नै हो[७] ।
    रुक्न:- रुक्न भनेको गण हो । उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ एक अक्षरेदेखि सात अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन् । रुक्नहरू भनेको पनि पिङ्गल छन्दमा गण भनेजस्तै लघु । र दीर्घ ऽ बाट बनेका हुन्छन् ।
    अर्कान:- अर्कानलाई रुक्नको खम्बा भनिन्छ । तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफात भन्दछन् । यसले गणजस्तै बहर निर्माणमा भूमिका खेल्दछ ।
    [सम्पादन गर्ने]शास्त्रीय बहरको परिचय
    शास्त्रीय बहरको नाम लिनु पर्दा सर्वप्रथम त उर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो भन्ने बुझ्न जरुरी छ । [८]
    छोटो उदाहारण:
    रुक्न:- रुक्न भनेको गण हो । उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ एक अक्षरेदेखि सात अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन् । रुक्नहरू भनेको पनि पिङ्गल छन्दमा गण भनेजस्तै लघु । र दीर्घ ऽ बाट बनेका हुन्छन्
    अर्कान:- अर्कानलाई रुक्नको खम्बा भनिन्छ । तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफात भन्दछन् । यसले गणजस्तै बहर निर्माणमा भूमिका खेल्दछ । अर्कानहरू आठओटा हुन्छन् जसलाई दुई भागमा विभाजन गरिएको छ:
    सबाई अर्कान
    खामसी अर्कान

    सबाई अर्कान:-
    निम्न अनुसारका ह्रस्व र दीर्घ अक्षरहरूको संयोजनबाट बनेको सात मात्रिक शब्दलाई उर्दूका शब्दमा भन्नु पर्दा सबाई अर्कान भनिन्छ । यसको सङ्ख्या छओटा छ ।
    फाइलातुन् ऽ।ऽऽ बराबर ७ मात्रा
    मुस्तफ्इलुन् ऽऽ।ऽ बराबर ७ मात्रा
    मफाईलुन् ।ऽऽऽ बराबर ७ मात्रा
    मुतफाइलुन् ॥ऽ।ऽ बराबर ७ मात्रा
    मफाइलतुन् ।ऽ॥ऽ बराबर ७ मात्रा
    मफ्ऊलात ऽऽऽ। बराबर ७ मात्रा

    खमासी अर्कान:-
    उर्दूका पाँचओटा अक्षरहरूको संयोजनबाट बनेका पाँच मात्रिक अर्कानलाई खमासी अर्कान भनिन्छ । यसको सङ्ख्या २ ओटा छ :
    फऊलुन् ।ऽऽ। बराबर ५ मात्रा
    फाइलुन् ऽ।ऽ। बराबर ५ मात्रा

    मुसम्मन्:- गजलको एउटा मिसरामा एउटै वा फरक-फरक गरी बनेका जम्मा चारओटा अर्कानहरू छन् भने त्यसलाई मुसम्मन् भनिन्छ ।
    मुसद्दस्:- त्यसैगरी एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा तीनओटा अर्कान छन् भने त्यसलाई मुसद्दस् भनिन्छ ।
    मुरब्बा:- कुनै पनि एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा दुईओटा अर्कान छन् भने त्यसलाई मुरब्बा भनिन्छ भने फरक-फरक अर्कानबाट बनेको मुरब्बा बहरको नामकरण भएको देखिन्न ।
    सालिम:- एउटा मिसरामा पूर्ण रुपले एउटै अर्कानको आवृत्ति भएको छ भने त्यसलाई सालिम भनिन्छ ।
    मुदाइफ:- दुई गुना गर्नुलाई मुदाइफ भनिन्छ ।
    [सम्पादन गर्ने]शास्त्रीय बहरको किसिम
    गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:[८]
    मुफरद बहर मूल छन्द
    मुरक्कब बहर मिश्रित छन्द
    मुजाहिफ बहर परिवर्तित छन्द
    [सम्पादन गर्ने]छन्द, बहर, दीवान, बयाज, रुकुन, अरकान

    गजल एक छन्द विशेषमा रचना गरिने शास्त्रीय मान्यता भएकाले यसमा छन्द वा बहर पनि महत्वपूर्ण मानिन्छ । गजलका शास्त्रिय छन्द फारसी तथा उर्दुमा ५० वटा मानिए पनि १९ वटा मात्र प्रयोगमा आएको (परिश्रमी, २०५१:२७) भनिए पनि खास गरी उर्दु गजलमा ३७ वटा बहर हुने तर १२ वटा मात्रै प्रयोगमा आएको दावी गजलकारहरुको छ । यस्तै उर्दु र फारसीमा गजल संग्रहलाई 'दीवान' र बहरबद्ध गजलसंग्रहलाई 'बयाज' भनिन्छ । उर्दु पिङ्गलशास्त्र अनुसार गणलाई 'रुकुन' भन्ने गरिएको पाइन्छ तथा बहरहरु 'अरकान' बाट बन्दछन् (परिश्रमी, २०५०:८७) । अरकान भनेको गण व्यवस्था हो । तथापि कतैकतै एउटा गणलाई 'रुकुन' र अक्षरको मात्रालाई वजन' भन्ने गरेको पनि पाइन्छ ।
    यो लेख एक उत्तम लेख हो। यो नेपाली विकिपीडियामा सठीकता, तटस्थता र शैलीको आधारमा सबभन्दा राम्रा लेखहरुमा पर्छ।
    स्रोत : विकिपिडिया

  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831